काठमाडौं : उपत्यकामा बुधबार बिहान मानिसहरू उठेर आफ्नो नित्य कर्ममा लाग्दै गर्दा भएको भूकम्पले भागाभागको अवस्था सिर्जना गर्यो । २०७२ सालको महाभूकम्पको चार वर्ष पूरा हुन एक दिन बाँकी रहँदा भएको कम्पनले सबैलाई त्रसित बनायो ।
भुइँचालो जानेबित्तिकै घरबाट बाहिर निस्किएका उपत्यकाबासीले समाचार साइटहरू खोलेर हेर्न थाले । तर मानिसहरू त्यसबेला अन्योलमा परे, जब हरेक अनलाइन समाचार पोर्टलमा फरकफरक स्केलको भूकम्प गएको समाचार थिए ।
भूकम्प जानेबित्तिकै आजको न्युजले पनि समाचार लेख्यो, ‘४.७ म्याग्निच्युड रिक्टर स्केलको भूकम्प गएको’ भनेर । तर लगत्तै अन्य अनलाइनहरूले ५.२ म्याग्निच्युड रिक्टर स्केलको भूकम्प गएको बताए ।
यसले अनलाइनहरूका बारेमा सर्वसाधारणमा ‘अनलाइन कति विश्वसनीय ?’ भन्ने धारणा पैदा गरिदिन्छ ।
अनलाइन मात्रै होइन, भूकम्पसम्बन्धी जानकारी दिने वेबसाइटहरूले पनि फरकफरक डाटा प्रस्तुत गरे । अनलाइन समाचारमा विवरणन फरक पर्नुको मुख्य कारण पनि यही नै हो ।
नेपालमा भूकम्प मापन गर्ने र सोसम्बन्धी जानकारी दिने निकाय ‘राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र’ले दिएको जानकारी अनुसार समाचार बनाउनेहरूले ५.२ म्यग्निच्युड उल्लेख गरे । त्यस्तै, भूकम्प मापन गर्ने अन्तरर्राष्ट्रिय निकायहरू यूएसजीएस (अमेरिकी) र ईएमएससी (युरोपियन) ले दिएको जानकारी अनुसार समाचार हाल्नेहरूले ४.७ म्याग्निच्युड उल्लेख गरे ।
कुन हो सत्य ?
बिहान भूकम्प जानेबित्तिकै राष्ट्रिय भूकम्प मापन केन्द्रको वेबसाइटमा समस्या भएर केही समय खुलेन । सो समयमा नेपालका केही समाचार माध्यमले अन्तर्राष्ट्रिय स्राेत प्रयो गरे । र फरकफरक विवरणका समाचार प्रकाशन भए । तर, समाचारहरूमा उल्लेख भएका भूकम्पका दुवै विवरण सही हुन् ।
‘एउटै भूकम्पका दुई शक्ति कसरी ? भन्ने प्रश्न उब्जिनु स्वाभाविक नै हो’, राष्ट्रिय भूकम्प मापन केन्द्रका सिस्मोलोजिस्ट चिन्तन तिम्सिनाले आजको न्युजसँग भने, ‘तर भूकम्पको मापन कुन स्केलमा गरिएको छ भन्ने कुरा हेर्नुपर्छ ।’
उनका अनुसार भूकम्प मापन गर्दा दुइटा स्केल प्रयोग गरिन्छ । पहिलो लोकल म्याग्निच्युड । अर्को बडी वेभ म्याग्निच्युड ।
नेपालको मापन केन्द्रले लोकल म्याग्निच्युड प्रयोग गरेर नाप्छ, जसको पछाडि ‘एमएल’ लेखिएको हुन्छ । अन्तर्राष्ट्रिय केन्द्रले बडी वेभ म्याग्निच्युड प्रयोग गरेर नाप्छन्, जसको पछाडि ‘एमबी’ लेखिएको हुन्छ ।
बुधबारको भूकम्प ५.२ लोकल म्याग्निच्युड र ४.७ बडी वेभ म्याग्निच्युडको हो । त्यसैले दुवै समाचार सही भएको तिम्सिना बताउँछन् । उनका अनुसार नेपालले पनि विदेशका भूकम्पको मापन गर्दा बडी वेभ सिस्टममै नाप्नुपर्ने हुन्छ ।
(जस्तै : कुनै सामानको उचाइ कसैले ५ फिट भन्न सक्छ । तर त्यही सामानको उचाइ अर्को व्यक्तिले १५२.४ सेन्टिमिटर भन्न सक्छ । यसको मतलब कुनै एक गल्ती वा दुवै गल्ती होइनन् । यी दुवै सही हुन् । मात्रै कुन स्केलमा नापियो भन्ने कुरा मुख्य हो ।)
रिक्टर स्केल होइन, सिस्मोलोजिकल स्केल
स्कुलमा हामीले भूकम्पको तीव्रता रिक्टर स्केलले नापिन्छ भनेर सिकेका छौं । सन् १९३० मा भूगर्भ विशेषज्ञ चाल्र्स रिक्टर र बेनो गुटनबर्गले केबल क्यालिफोर्निामा भूकम्पका कारण पैदा हुने ऊर्जाको मापन गर्नका लागि यसको निर्माण गरेका थिए ।
यो एक प्रकारको सिस्मोग्राफ थियो । यसैकारण सन् १९७० मा एक नयाँ प्रणाली सिस्मोलोजिकल स्केल जन्मियो । सिस्मोलोजिकल स्केलको प्रयोग ठूलो मात्रामा हुने गरेको पनि छ । तर यो अप्ठेरो नाम भएकाले यसलाई पनि मानिसले रिक्टर स्केलका रूपमा नै लेख्ने गरेका छन् ।
याे पनि पढ्नुहाेस् :
भारतमा पनि गयो शक्तिशाली भूकम्प
काठमाडाैंमा भूकम्पकाे शक्तिशाली धक्का (अपडेट)
काठमाडाैंमा भूकम्पकाे शक्तिशाली धक्का
प्रकाशित मिति: बुधबार, वैशाख ११, २०७६