काठमाडौं : सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाएर धरपकड तीव्र पारेको छ । फागुन २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो पार्टीका गतिविधिलाई आपराधिक भन्दै प्रतिबन्ध लगाएपछि देशभरबाट नेता, कार्यकर्ता पक्राउ पर्ने शृङ्खला नै सुरु भएको छ ।
प्रहरीले धरपकडलाई तीव्र पारेपछि यतिबेला सो पार्टीका सबैजसो नेता, कार्यकर्ता भूमिगत र अर्धभूमिगत बनेका छन् । भूमिगत अवस्थामा नै शनिबार बिहान स्थायी समिति सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ काभ्रेबाट दलबलसहित स्कार्पियो गाडीमा काठमाडौं आउँदै गर्दा पक्राउ परे ।
पक्राउ परेका कि पारिएका ?
विप्लवको नेकपाका नेताहरू दैनिक रूपमा पक्राउ परिरहेका छन् । धमाधम पार्टी नेता, कार्यकर्ता पक्राउ परेपछि पार्टीभित्र एकअर्काप्रतिको अविश्वास बढेको छ । विगतदेखि नै रहेको विप्लव र प्रकाण्डबीचको अविश्वास र आशंकालाई यसपछि अझ बलियो बनाउने अवस्था सिर्जना भएको छ ।
यो पक्राउको विषयलाई सो पार्टीभित्र दुई तरिकाको विश्लेषण गरिएको छ । पहिलो, पक्राउ पर्नेहरूले अपनाएको फितलो सुरक्षा र असावधानीका कारण पक्राउ परेको भन्ने देखिएको छ । त्यसमा पनि यो जटिल अवस्थामा किन पर्याप्त सावधानी अपनाइएन भन्ने तर्क बलियो देखिन्छ ।
सो पार्टीका एक नेताले भने, ‘यीमध्ये कतिपय पक्राउ नियोजित पनि हुनसक्छन् । अझै करिब एक दर्जनको हाराहारीमा केन्द्रीय समिति र सो स्तरकै नेताहरू पक्राउ पर्ने पार्टीको आन्तरिक आँकलन छ । यसले तत्काल पार्टीलाई घाटा नै देखिन्छ तर प्रतिबद्ध कार्यकर्तालाई सुरक्षित बनाउँदै अघि बढ्नचाहिँ सहयोग नै पुग्छ ।’
जोगिने अवस्था हुँदाहुँदै नेताहरू पक्राउ पर्ने घटनालाई सामान्य रूपमा लिनै नसकिने उनको भनाइ छ । ‘केही नेताहरूले त पक्राउ परेर पार्टीका आन्तरिक सूचना दिएर भए पनि ज्यानको सुरक्षा खोजेको हो कि जस्तो देखिन्छ’, उनको शंका छ ।
यदि यस्तो हो भने दुवै प्रवृत्ति घातक हुन् र विप्लव माओवादीभित्र निकट भविष्यमा ठूलो विष्फोटको खतरा मडारिरहेको देखिन्छ ।
विप्लवको नेकपाबारे नजिकबाट अध्ययन गरेका एक पूर्वमाओवादी नेता भन्छन्, ‘पक्राउ परेर पार्टीका गोपनीयता खोल्ने मात्रै होइन, नेता कार्यकर्ताको सेल्टरसम्मै प्रहरी लिएर पुग्ने अवस्था सिर्जना हुनुले सो पार्टीका कार्यकर्तामाथि क्रान्तिप्रतिको बुझाइ, विचार र आस्थाप्रतिको दृढतामा शंका गर्ने प्रशस्त ठाउँ देखिएको छ ।’
पक्राउ पर्नेले पनि डायरी, माइन्युट, मोबाइल र सिम कार्डसम्म पनि प्रहरीलाई बुझाउनुले थप नेता, कार्यकर्ता पनि असुरक्षित बनिने भयमा देखिएका छन् । नेतादेखि कार्यकर्तासम्मको पक्राउ प्रकरण र नेताहरूकै गोपनीयता भंग हुने कुराले सो पार्टीको आन्तरिक मजबुतीमाथि पनि खतरा भएको देखाएको छ । यद्यपि, यस्ता कतिपय कुराहरू राज्यको तीव्र दमनका बीच अन्त्य हुने र पार्टीभित्र नयाँ एकता पैदा हुने सम्भावनालाई नकार्न सकिन्न ।
वलीप्रति पनि आशंका
हेमन्तप्रकाश वली पहिलो संविधानसभाको विघटनसँगै तत्कालीन एमाओवादीबाट फुटेको वैद्य माओवादी र त्यसबाट अलग भएका विप्लवको राजनीतिक एजेन्डामा सहमत थिएनन् । दोस्रो संविधानसभाको निर्वाचनपछि उनले आफूलाई प्रचण्डले सभासद बनाउने विश्वास गरेका थिए तर प्रचण्डको प्राथमिकतामा उनी परेनन् । जनयुद्धकालमा रोल्पापछि सबैभन्दा बढी माओवादी पकड रहेको रुकुममा ओलीसँगै जनार्दन शर्मा, लोकेन्द्र विष्टलगायतका नेता भएकाले ओलीले मौका पाएनन् ।
यही पृष्ठभूमिमा उनी विप्लवको नेकपामा प्रवेश गरे । एमाओवादीबाट वैद्य माओवादी हुँदै आफ्नै नेतृत्वमा पार्टी गठन गरेका विप्लवलाई साथ दिएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र एमाओवादीमा प्रचण्डको नजिक भएर पनि महत्त्वपूर्ण भूमिका नपाएपछि डा. ऋषिराज बराल हुँदै विप्लवतिर हान्निएका हेमन्तप्रकाश वली ‘सुदर्शन’बीच त्यति राम्रो सम्बन्ध देखिँदैन ।
पार्टीमा आएपछि विप्लवले वलीलाई नजिक बनाउन थालेपछि प्रकाण्ड र उनी निकट नेताहरू झस्किएका बताइन्छ । प्रकाण्डसँग टक्कर पर्न थालेपछि विप्लवले पनि सुदर्शनलाई बढी महत्त्व दिएको सो पार्टीलाई नजिकबाट नियाल्ने एक पूर्वसहकर्मी बताउँछन् । प्रचण्डको नजिकै रहे पनि उनले कतिपय उनकै व्यवहार र पार्टीभित्रको आन्तरिक संघर्षका कारण महत्त्वपूर्ण स्थान नपाएको उनको बुझाइ छ ।
नयाँ आधार इलाका र छापामार शैलीको विकास नभइसकेको शक्ति प्रतिबन्धको अवस्थामा कसरी सुरक्षा गर्ने भन्ने तथा आन्तरिक सूचनाको प्रवाह र बाह्य सूचना संकलनमा कमजोर देखियो ।
नख्खुस्थित एनसेल कार्यालयमा बम विष्फोट गराएको घटनामा विप्लवका पूर्वअंगरक्षक सूर्य भुजेल पक्राउ परेका थिए । सो घटनापछि अरू नेता, कार्यकर्ता पनि सोही घटनामा संलग्न भएको र योजना बनाएको आरोपमा पक्राउ परेका छन् ।
विप्लव माओवादीभित्र भूकम्पको खतरा !
अहिले सत्तामा रहेका र सत्ताको विरोध गरिरहेका दुवै पार्टी विगतमा ठूलो र एउटै बलिदानीपूर्ण इतिहास भएका पार्टी हुन् । दुवै एकअर्काका गतिविधि र विचारबारे जानकार छन् । त्यसैले सरकारमा रहेका नेताहरूलाई विप्लव र उनको पार्टीलाई दमन गरेरै ठीक पारिन्छ भन्ने सोचाइले काम गरेको देखिन्छ भने विप्लवको पार्टीभित्र पनि संसदवादी भासमा गएकाले उनीहरूलाई गलाउन सकिन्छ भन्ने आत्मविश्वास देखिन्छ । तर पछिल्लो समयमा नेताहरू पक्राउ पर्ने शृङ्खलाले विप्लवको नेकपाभित्र विगतमा देखिएको त्यो आत्मविश्वासले काम गरेको देखिन्न ।
दुई दिनअघि सो पार्टीका स्थायी समिति सदस्य हेमन्तप्रकाश वली पक्राउ परेपछि सो पार्टीका अन्य नेताहरूसँग पुग्न सहज रहेको आमविश्लेषण देखिएको छ । त्यस्तै, विप्लवकै पार्टीका तल्लो तहका नेता, कार्यकर्ताले पनि आफूलाई असुरक्षित महसुस गर्न थालेका छन् । सो पार्टीका एक कार्यकर्ता भन्छन्, ‘माथिल्लो स्तरका नेताले आफ्नो सुरक्षामा ख्याल गर्नुपर्यो ।’
कहाँ चुक्यो विप्लव नेकपा ?
विप्लव नेकपामाथि प्रतिबन्ध लागेपछि आफ्नो शक्तिलाई कसरी रक्षा गर्ने भन्ने विषयमा पर्याप्त सावधानी देखिएन । ललितपुरबाटै पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ र काभ्रेबाट हेमन्तप्रकाश वली दलबलसहित पक्राउ पर्नुले उनीहरूको काँचो र अपरिपक्व व्यवहारलाई देखाउँछ ।
विप्लवका अधिकांश नेता कार्यकर्ताहरू करिब करिब पुरानै आधार क्षेत्रबाट पक्राउ परेका देखिन्छन् । यसले उनीहरूले विगतकै आधार इलाका र सेल्टरलाई प्रयोग गर्ने, काठमाडौं उपत्यकामा साना ठूला घटना घटाएर उपत्यकाबाहिर गएर बस्नेजस्ता गतिविधि गरेको देखिन्छ । यो विप्लव नेकपाका लागि सबैभन्दा ठूलो खतरा हो । किनकि हिजोका सबै आधार इलाका र सेल्टर प्रयोग गरेका नेताहरू नै आज सरकार र संसदमा छन् ।
राज्यविरुद्ध युद्ध गर्ने कुरा आफैँमा सजिलो कुरा हुँदै होइन । तर सरकारविरुद्ध संघर्षमा रहेको विप्लवको नेकपाभित्रको अपरिपक्वताले सरकारलाई नै सजिलो बनाइदिएको छ ।
नयाँ आधार इलाका र छापामार शैलीको विकास नभइसकेको शक्ति प्रतिबन्धको अवस्थामा कसरी सुरक्षा गर्ने भन्ने तथा आन्तरिक सूचनाको प्रवाह र बाह्य सूचना संकलनमा कमजोर देखियो । राज्यले अहिले विप्लव माओवादीलाई आतंकवादी घोषणा गर्नुबाहेक सबै उपाय अवलम्बन गर्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा सिंगो पार्टी पंक्तिलाई कसरी बचाउने, सूचनाको व्यवस्थापन र प्रयोग कसरी गर्ने भन्ने विषयमा अन्योल देखिनु पनि यो अवस्थाको कारक हो ।
त्यस्तै, विप्लवको नेकपाको अघिल्लो केन्द्रीय समितिको बैठकले चैतको पहिलो सातासम्मलाई आफ्ना कार्यक्रम निर्धारण गरेको थियो । नयाँ कार्यक्रम तय गर्न बैठक बस्ने समयमा नै सरकारले प्रतिबन्ध लगाएपछि तत्काल बैठक गरेर नयाँ कार्यक्रम तय गर्न पाएको छैन । त्यसैले पनि पार्टीभित्रको वस्तुनिष्ठ समीक्षा, नेताहरूको कार्यविभाजन र निरन्तर भेटघाटको अभावले कसरी अघि बढ्ने भन्ने निर्क्योल गर्न नसक्दा थप भद्रगोलको अवस्था देखिन्छ । यही भद्रगोलकै बीचमा सरकार भने गोल गर्न सफल भइरहेको छ ।
याे पनि पढ्नुहाेस् :
विप्लव नेकपाका लागि पुरानो ‘आधार इलाका’ र ‘गुरिल्ला रुट’ नै असुरक्षित !
प्रकाशित मिति: सोमबार, चैत ११, २०७५