काठमाडौं : ‘कतिपय साथीहरू अहिले मेरै नक्कल गर्न खोज्छन् । मैले हेर्दा त मेरै स्कुलको नक्कल गर्न खोजेको बाहेक केही पनि देख्दिनँ । तर, नक्कल गरेर पास भइँदैन’, विप्लव नेतृत्वको नेकपालाई लक्षित गर्दै पुष्पकमल दाहालले केही दिनअघि पेरिसडाँडामा भनेका थिए, ‘यो ०५२ साल होइन । प्रचण्डले यसो गरे, अर्को प्रचण्ड बन्छु भन्दै हिँडेको पनि सुन्छु । प्रचण्डको नक्कल गरेर प्रचण्ड बन्न सजिलो छैन । नयाँ बाटो खोज्नुस् ।’
विप्लवका माथिल्लोस्तरका कमान्डरसहित कार्यकर्ता धमाधम पक्राउ पर्नुले कतै प्रचण्डले भने जस्तै उनै नेतृत्वको तत्कालिन नेकपा माओवादीकाे नक्कल गरेकाले त होइन ? धेरैमध्ये यी र यस्तै अरू प्रश्नहरूमाथि समेत अहिले टिकाटिप्पणी शुरु भएको छ । युद्धकालमा ‘प्रचण्डपथ’ का व्याख्याता मानिने नेता हेमन्तप्रकाश ओली सुदर्शन नै पक्राउ पर्नुले पनि त्यस्तो आशंकालाई बल पुगेको हुनसक्छ ।
शनिबार बिहानै नेकपाका मध्यकमान्ड इन्चार्ज सुदर्शन पक्राउ परेका छन् । उनी खड्गबहादुर विश्वकर्मा प्रकाण्डपछि पक्राउ पर्ने हालसम्मकै उच्च तहका नेता हुन् । यसअघि गत मंगलबार साँझ काभ्रेपलाञ्चोककै रोशी गाउँपालिका–२ खहरेपाँगुस्थित काफलडाँडामा प्रहरी सर्च अप्रेसनमा गएको प्रहरी टोलीले शिव धिताल र विशाल तामाङलाई पक्राउ गरेको थियो ।
सो सर्च अपरेसनका क्रममा ओली थोरैले मात्र जोगिएका थिए । जहाँ प्रहरीले नेकपाका कार्यकर्ताले गोली चलाउँदा दोहोरो फायरिङ भएको दाबी गरेको थियो भने नेकपाले त्यसको खण्डन गरेको थियो । प्रचण्ड नेतृत्वले अपनाएको बाटोकै प्रयोग गर्न खोज्दा यति छोटो समयमा नै प्रहरीले यति धेरै उपलब्धि हासिल गर्न सकेको हो कि भन्ने अनुमान गर्न त्यस्तो गाह्रो पनि हुँदैन । साथै प्रहरीलाई सूचना दिने पनि पुराना माओवादी कार्यकर्ता नै हुनसक्ने बताइन्छ । युद्दकालमा प्रयाेग गरेका गुरिल्ला रुट प्रयोग गरेकाले उनीहरु धमाधम पक्राउ परेकाे हुनसक्ने सुरक्षा मामलाका जानकारहरु बताउँछन् । आफुहरु भूमिगत नभइसकेको बताएको नेकपाका नेता,कार्यकर्ता पुरानै ‘गुरिल्ला रुट’ प्रयोग गर्दा प्रहरी निशानामा पर्न थालेकाे उनीहरुकाे विश्लेषण छ । प्रचण्डहरुले जनयुद्धको कार्यभार सम्पन्न गर्न नसकेको भन्दै जन्मिएको नेकपाले एकीकृत क्रान्ति गर्ने उद्घोष गरेको छ । सरकारले प्रतिबन्ध लगाएपनि उसले कुनै युद्दकाे घोषणा भने अहिलेसम्म गरेको छैन ।
पुरानै गुरिल्ला रुटमा सक्रियता
नेकपासँग तत्कालीन माओवादीले युद्धकालमा प्रयोग गरेकै हतियार रहेको प्रहरी अनुमान छ । शान्ति प्रक्रियामा आउँदा शिविरबाटै हतियारहरू हराएको र सो हतियार विप्लव नेकपासँग हुनसक्ने आशंका माओवादी शिविरका तत्कालीन कमान्डरहरूले पनि गर्दै आएका छन् ।
हतियार मात्र होइन विप्लव नेकपाका नेता, कार्यकर्ताले प्रतिबन्धित भएपछि हिँड्ने रुट समेत पुरानै प्रयोग गर्ने गरेका छन् । सो कुरा काफलडाँडा घटनाले पनि पुष्टि भएको सुरक्षाविज्ञहरू बताउँछन् । काभ्रेको रोशी क्षेत्र युद्धकालमा पनि माओवादीको प्रभाव क्षेत्र हो । ललितपुर र काठमाडौंमा भएका बम विष्फोटको डिजाइन र त्यसलाई कार्यान्वयन गर्ने कमान्ड त्यहीँबाट भएको प्रहरीको विश्लेषण थियो ।
सोही आधारमा सो क्षेत्रमा निगरानी बढाउँदा नेकपाको मध्यकमान्ड इन्चार्ज सहितको टोली नै पक्राउ गर्न प्रहरी सफल भएको छ । काभ्रेबाट ललितपुर हुँदै काठमाडौं भित्रिने काभ्रे र ललितपुरको सिमानामा पर्ने दुर्लङखोला युद्धकालको पुरानै बाटो भएको पुराना माओवादीहरू बताउँछन् । रोशीमा ओली रहेकोबारे जानकार प्रहरीले सो क्रममा माओवादी युद्धकालमा काभ्रे हुँदै बाहिरिने अधिकांश रुटमा निगरानी बढाएको स्राेतकाे दाबी छ।
शान्ति प्रक्रियामा आउँदा शिविरबाटै हतियारहरू हराएको र सो हतियार विप्लव नेकपासँग हुनसक्ने आशंका माओवादी शिविरका तत्कालीन कमान्डरहरूले पनि गर्दै आएका छन् ।
अपराध महाशाखाका प्रहरी उपरीक्षक (एसपी) सोमेन्द्रसिंह राठौर नेतृत्वको टोली काफलडाँडा सर्च अपरेसनमा खटिएको थियो । राठौर नेपाल प्रहरीभित्र काबिल अफिसरका रूपमा परिचित छन् । विप्लव नेकपाले पुरानै शैली अपनाएको तत्कालीन माओवादीका सुप्रिम कमान्डर रहेका पुष्पकमल दाहालले बताएका छन् । प्रहरी स्रोतले विगतमा सशस्त्र युद्ध लड्दाकै तरिका र बाटो अहिले विप्लव नेतृत्वको नेकपाले प्रयोग गरिरहेको भन्दै त्यही रूपमा आफ्नो सक्रियता बढाएको छ । छोटो समयमै प्रहरीलाई सफलता पनि मिलेको छ ।
यो सफलताको पछाडि पुरानो अनुभवले काम गरेको हुनसक्ने सुरक्षा मामलाका जानकारहरू बताउँछन् । प्रहरी प्रवक्त उत्तमराज सुवेदी काठमाडौं र ललितपुरमा भएका घटनामा संलग्न नेकपाका नेता, कार्यकर्ता पक्राउ गर्नु प्रहरीको सफलता भएको बताउँछन् । तर, अहिले नै के कारणले प्रहरीलाई त्यस्तो सफलता प्राप्त भयो । समीक्षा गर्ने बेला भइनसकेको बताउँछन् । ‘अहिले नै समीक्षा गर्नु हतार हुन्छ,’ उनले भने । सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू धमाधम पक्राउ पर्न थालेपछि नेकपाका बारेमा ‘पुरानै शैली’ सफल नहुने दाबी गर्न थालिएकाे छ । प्रचण्डले पनि विगतकाे जनयुद्दकाे नक्कल सफल नहृुने दाबी गरिसकेका छन् । युद्धकालमा तत्कालिन माओवादीका उच्च तहका नेता रहेका बाबुराम भट्टराई पनि विप्लवले हिँड्न खोजेको बाटो सफल नहुने दाबी गर्छन् । सुदर्शन ती नेता हुन् जाे माओवादी युद्धकालमा ‘प्रचण्डपथ’का व्याख्याताका रुपमा समेत हेरिन्थे । ०६३ सालमा प्रचण्डपथः दर्शन र सैन्य कार्यदिशा नामक पुस्तक समेत सुदर्शन र जनार्दन शर्माले मिलेर लेखेका थिए ।
काभ्रे र ललितपुरको सिमानामा पक्राउ
खानीखोला गाउँपालिका–७ मिल्चेस्थित बोरेनी नजिकै काभे्रपलाञ्चोक र ललितपुरको सिमानाबाट सुदर्शनसहितको टोली फक्राउ परेको हो । प्रहरीका अनुसार उनीहरू बा १७ च ४८९३ नम्बरको स्कारपियो गाडीमा सवार थिए । काभ्रे र ललितपुरको सिमाना दुर्लङखोला पार गरेलगत्तै प्रहरीको विशेष ब्युरो, महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले ‘सर्च अपरेसन’ का क्रममा गाडी नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ओली, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित तामाङ, शंकर अधिकारी, देव घिमिरे, सञ्जीव कार्की र लोकेन्द्र खड्का छन् । पछिल्लो केही हप्तायता मात्र विभिन्न स्थानबाट तीन दर्जनभन्दा बढी नेकपाका नेता, कार्यकर्ता पक्राउ परिसकेका छन् ।
निशानामा आधारइलाका
नेकपाका महासचिव विप्लवको गृहनगर कपिलवस्तुको शिवनगरमा समेत प्रहरीले ‘सर्च अप्रेसन’ गरिसकेको छ । सो क्रममा प्रहरीको गोली प्रहारबाट नेकपाका एक कार्यकर्ता घाइते भएका थिए भने केही थान हतियार समेत बरामद भएको थियो । उता, नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माको गृहजिल्ला कालिकोटमा नेकपाले बनाइरहेको सडक निर्माण कार्य समेत प्रहरी हस्तक्षेप पछि रोकिएको छ ।
(तस्बिर : नेकपा प्रवक्ता प्रकाण्डको फेसबुकबाट)
प्रकाशित मिति: शनिबार, चैत ९, २०७५