काठमाडौं :मुलुकमा जातीय छुवाछूत व्यावहारिक रूपमै अन्त्यका लागि भन्दै अभियन्ताद्वय होमराज आचार्य र अशोक दर्नालले भोलि चैत १ गतेदेखि मेची–महाकाली पदयात्रा सुरु गर्ने भएका छन् । पदयात्रा सफल बनाउन ऐक्यबद्धता एवम् शुभकामना कार्यक्रम गरी सो जानकारी गराइएको हो ।
उपलब्धि बहुउद्देश्यीय सहकारीको आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मीनराज कँडेलले छुवाछूत अन्त्यका लागि आचार्य र दर्नालको पदयात्रा अभियान महत्वपूर्ण हुने बताए ।
कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका लेखा सुपरीवेक्षण समिति संयोजक धर्मदत्त देवकोटा, राष्ट्रिय सहकारी विकास बोर्डका सदस्य सचिव चक्रबहादुर पराजुली, नेफ्स्कून अध्यक्ष डीबी बस्नेत लगायतले भनाइ राखेका थिए ।
देशका हरेक कुनाकुनामा जागरण फैल्याउन पश्चिम महाकालीबाट सुरु भई पूर्व मेची पुगेर पदयात्रा सकिने छ । देशका विभिन्न स्कूल, कलेज र स्थानीय जनप्रतिनिधिसँग छलफल कार्यक्रम समेत गरिने अभियन्तामध्येका होमराज आचार्यले बताए ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५ ००:५४