काठमाडौं । दोहोरो नागरिकता लिएर दुवै देशको कानुनकै धज्जी उडाएपछि अहिले एउटा सिंगै परिवार राज्यविहिन बन्न पुगेको छ । नेपालमा गलत विवरण पेस गरेर नागरिकता लिएका भारतीय व्यक्तिहरूले भारतमै पनि गलत विवरण पेस गरेर नागरिकता लिएको फेता परेको छ । दुवै देशको नागरिकता खारेज भएपछि राज्यविहीन भएको सो परिवार अहिले आफैँ जन्मिएको देश भारतमा लुकेर बस्न बाध्य भएको छ ।
काठमाडौं डिल्लीबजारस्थित एईसीसी ग्लोबल नामक संस्थाका सञ्चालकहरूको नेपाली नागरिकता नक्कली पाइएको हो । शैक्षिक परामर्शदाताका रूपमा काम गर्दै आएको सो संस्थाका सञ्चालकहरूको नेपाली नागरिकता रद्द गर्न र निजहरूको नेपालमा रहेको सम्पत्ति रोक्का गरी थप कारबाही थाल्न भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले गत भदौ २९ गते गृह मन्त्रालयमा सक्कल मिसिलसहित पत्राचार गरेपछि उनीहरुको फर्जी नागरिकता प्रकरण बाहिर आएको हो ।
उक्त कम्पनीका ५० प्रतिशतको साझेदार तथा कम्पनीमा अध्यक्षको हैसियतमा रहेकी श्रीमती लोचनकुमारी हरलालका, निजका श्रीमान् जयप्रकाश अग्रवाल र दुई छोरा रञ्जित र छोरी रुबीको जन्मको आधारमा लिएको नेपाली नागरिकता नै नक्कली रहेको तथ्यसहित पर्साका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्माले शंकास्पद नेपाली नागरिकता रद्द गर्न र उनीहरूको सम्पत्ति जफत गर्नुपर्ने व्यहोराको सिफारिसपत्र गृहलाई पठाएका हुन् ।
जिल्ला प्रशासनको यो कारबाहीसँगै निजका नाममा रहेको वीरगन्ज र काठमाडौंको घर, एईसीसी ग्लोबलको ५० प्रतिशत सेयरलगायतका सम्पत्ति यतिबेला धरापमा परेको छ भने निजले वीरगन्ज र काठमाडौंको घर बैंकमा राखेर ऋण निकालेकै कारण यतिबेला ऋण प्रवाह गर्ने बैंकको लगानीसमेत जोखिममा परेको छ ।
एईसीसी ग्लोबलमै व्यवस्थापक सचिन उपाध्यायमाथि ‘धोखाधडी’ र ठगी गरेको आरोपको छानबिन गर्ने क्रममा उनीहरूसँग रहेको नेपालको नागरिकता नक्कली रहेको पाइएपछि सिंगो परिवारमाथि नै जिप्रका पर्साले उक्त कारबाही अघि बढाएको हो ।
भारतमा पनि फर्जी नागरिकता
अग्रवाल परिवारले नेपालमा मात्रै नभएर भारतमा पनि नक्कली व्यहोरा पेस गरेर भारतीय नागरिकता लिएको खुलासा भएको छ । उनीहरुमाथि भारतमा पनि छानबिन भइरहेको स्रोतले बतायो । समाचार स्रोतका अनुसार लोचनकुमारीका कान्छा छोरा सोनुले भारतको राहदानी पाउँदा आफ्नो जन्म मिति ०७–०२–१९८३ उल्लेख गरेका छन् भने अस्ट्रेलियन पासपोर्टमा जन्म मिति २९–०१–१९८४ राखिएको छ । यसै प्रकरणमा भारतीय अधिकारीले बढाएको छानबिनकै क्रममा सोनुका पिताको भारतीय मतदाता परिचयपत्रमा बिहारीलाल अग्रवाल जनाइएको पाइए पनि सोनुले लिएको भारतीय राहदानीमा भने बाबुको नाम जयप्रकाश नारायण अग्रवाल उल्लेख छ ।
सोनुले भारतमा लिएको भारतीय पासपोर्ट नक्कली विवरण उल्लेख गरी पाएको व्यहोरासहित गत जुलाई २५, २०१९ मा भारतको इन्दौर निवासी दीपक मोहनलाल खट्वाले भारत सरकारको विदेश मन्त्रालय पासपोर्ट विभाग प्रमुखलाई निवेदन दिएपछि सोनुको पासपोर्ट समेत छानबिनका लागि भारतीय विदेश मन्त्रालयका पासपोर्ट विभागका प्रमुख अधिकारीले सेप्टेम्बर १३ २०१९ मा आदेश दिएपछि यतिबेला सोनुसहित आमा लोचन र दाजु विकास भनिने रञ्जित भारतमै लुकीछिपी बसेको अवस्था छ ।
भारतीय नागरिकले जन्मको आधारमा नेपालमा नागरिकता लिएको दिनदेखि नै उसको भारतीय नागरिकताको अधिकार स्वतः समाप्त हुन्छ । र, जुन दिन नेपाल सरकारले उसको गलत नागरिकता खारेज गर्छ– त्यही दिन त्यस व्यक्तिको अवस्था राज्यहीन नागरिकको रूपमा हुन जान्छ, किनभने नेपाल र भारतमा दोहोरो नागरिकतालाई मान्यता दिइँदैन ।
एईसीसी ग्लोबल प्रालिको अस्ट्रेलिया कार्यालयमा निर्देशकका रूपमा कार्यरत सोनु र उनका परिवारका सबै सदस्यले जन्मको आधारमा नेपाली नागरिकता लिएका थिए । तर, भारत सरकारद्वारा जारी गरिएको जन्म प्रमाणपत्र, मतदाता परिचयपत्र, प्यान कार्ड आदि अवैध रहेको पाइएको छ । यसरी हेर्दा यस परिवारले दुवै मुलुकका सरकारी निकायमा झुटो व्यहोरा उल्लेख गरेर दोहोरो नागरिकता पाएको देखिन्छ ।
उता, भारतीय कानुनविपरीत सोनुका बाबुआमा नेपाली रहेको तर भारतमा भने उनले जन्मको आधारमा नागरिकता पाएका थिए । जब कि भारतीय नागरिकतासम्बन्धी कानुनले गैरभारतीय अभिभावकका बच्चालाई जन्मसिद्ध नागरिकताको अनुमति दिँदैन । यही नागरिकता प्रकरणलाई लिएर भारत सरकारको पासपोर्ट कार्यालयले सोनुले लिएको पासपोर्टमाथि छानबिन थालेको हो ।
जागिर लाइदिने भन्दै रकम ठगी !
यसैबीच गत जुलाई २५ मा भारतको इन्दौर निवासी दीपक खट्वाले लोचनकुमारी, उनका पुत्रद्वय रञ्जित र सोनुविरुद्ध आफूलाई अस्ट्रेलियामा जागिर दिलाइदिने प्रलोभनमा पारी २ लाख भारतीय रुपैयाँ ठगी गरेको भन्दै स्थानीय प्रहरी उपरीक्षक रुचीबर्धन मिश्रसमक्ष उजुरी दिएका छन् ।
लोचन परिवारको अपराध शृंखला
यसअघि लोचनकै जेठा छोरा रञ्जितलाई गोल्छा अर्गनाइजेसनअन्तर्गतको हुलास पावरको एक ट्रक ब्याट्री चोरेको अभियोगमा २०७२ चैत ७ गते चितवन जिल्ला अदालतले १ महिना जेल र करिब ५४ लाख रुपैयाँ जरिवानासमेत तिराएको थियो
त्यस्तै गत वर्ष मंसिर २० गते बैकिङ ठगी र धोखाधडीकै अभियोगमा काठमाडौं जिल्ला अदालतले लोचनकुमारी हरलालका र छोरा रञ्जित अग्रवाललाई पक्राउ गर्न आदेश दिए पनि काठमाडौं प्रहरीकै मिलेमतोमा लोचन र रञ्जितलाई भगाइएको हो ।
यसका लागि सोनुले आफू रञ्जित बनेर गिरफ्तारी दिएर कानुनको धज्जी उडाएका थिए । उनीहरू अहिलेसम्म नेपालबाट फरार भएर भारतमा भूमिगत जीवन बिताइरहेको बताइन्छ ।
उनीहरुको खोजतलासका क्रममा मोतीहारीमा पनि उजुरी दर्ता भएको छ ।
त्यसैगरी उज्जैनमा पनि उजुरी परेको छ ।
एक्लै खान खोज्दाको परिणाम
एईसीसी ग्लोबल प्रालि नेपाललगायत अन्य ८ मुलुकमा आफ्नै कार्यालयमार्फत अस्टे«लिया र अन्य देशहरूमा अध्ययनका लागि जान इच्छुक विद्यार्थीलाई शैक्षिक परामर्श दिने उद्देश्यले अस्टे«लियामा सुरु भएको कम्पनी हो । र, यसले अन्य ८ देशमा शाखा कार्यालय स्थापना गरेर काम गर्दै आएको भए पनि नेपालमा भने कम्पनी रजिस्ट्रारको कार्यालयमा लोचनकुमारी हरलालका र सौरभ वैद्य ५०/५० प्रतिशतको साझेदारका रुपमा रहने गरी दर्ता भएर सञ्चालित थियो ।
यस्तै अस्ट्रेलियालगायतका कम्पनीमा भने लोचनकुमारी हरलालकाका कान्छा छोरा सोनु अग्रवाल र सौरभ वैधको ५०/५० प्रतिशत सेयर थियो । अस्टे«लिया, नेपाल, भारत, सिंगापुरलगायतका यस कम्पनीको शाखाको स्वामित्व हत्याउने ध्येयले सोनु अग्रवालले काठमाडौंमा रहेको कार्यालयबाट षड्यन्त्रपूर्वक सौरभलाई अलग्याउन खोजेपछि आफ्नो नाममा भएको कम्पनीको सेयर सौरभले पिता राजेन्द्रकुमार वैद्यलाई अंश भरपाई गरी नामसारी गरिदिएपछि सोनु अर्धपागलझैं भए । त्यही कारण सोनुले तीव्र मतभेद र विवाद सिर्जना गरे । र, कम्पनीका तर्फबाट विनानिर्णय लोचनकुमारी हरलालका पाटन जिल्ला अदालतमा सौरभ र राजेन्द्रविरुद्ध मुद्दा दर्ता गर्न पुगिन् ।
विभिन्न अभियोगमा लोचनले वैद्य बाबु–छोराविरुद्ध अदालतमा दायर गरेका ८ मुद्दा अदालतले खारेज गरिदिएको थियो । त्यस्तै कम्पनी रजिस्ट्रारलगायत अन्य सरकारी निकायमा पनि धेरै मुद्दा हालिए । तर, पनि लोचनले पराजय व्यहोर्नुप¥यो । पाप धुरीबाट कराएजस्तै आखिरमा यी र यस्ता फटाइँको सजाय नेपालबाट निष्कासितमात्रै होइन, जन्म देश भारतबाट पनि राज्यविहीन बन्नु पर्यो ।
यसबीचमा काठमाडौं कार्यालयमा व्यवस्थापकका रुपमा कार्यरत सचिन उपाध्यायलाई निजले पाउनु पर्ने तलब, कमिसनबापतको रकमसमेत नदिई गैरकानुनी ढंगले निष्कासन गरिएको थियो । कम्पनीबाट निष्कासन गरेपछि सचिनले कम्पनीसँग नियमानुसार पाउनुपर्ने तलब, कमिसन र आफूले कम्पनीलाई ऋणबापत उपलब्ध गराएको १० लाख रुपैयाँ माग गरेपछि कम्पनीका अर्का व्यवस्थापक लोचनका जेठा छोरा रञ्जितले तलब र कमिसनका बारेमा कुनै वास्तै नगरी लोचनको निर्देशनमा १० लाखको फर्जी चेक सचिनलाई उपलब्ध गराए ।
आफूलाई फर्जी चेक दिएर झुक्याएको विवरण खुलाउँदै सचिनले १९ मंसिर २०७५ मा प्रहरीमा उजुरी गरेपछि काठमाडौं जिल्ला अदालतले लोचन र रञ्जितका विरुद्ध २० मंसिरमा पक्राउ आदेश जारी गर्यो ।
अदालतले पक्राउ आदेश जारी गर्नासाथ लोचन र रञ्जितलाई भूमिगत गराउन कान्छा छोरा सोनुले आफूलाई रञ्जित भनेर गिरफ्तारी दिए । कानुनको धज्जी उडाउने सोनुलाई प्रहरीले ठूलो कारबाही गर्न सक्थ्यो । तर, उनलाई बोलाएर औपचारिक सोधपुछ गर्नेबाहेक प्रहरीले केही पनि गरेन । यसबाट प्रहरी आर्थिक चलखेल र प्रभावमा परेको अनुमान गर्न सकिन्छ ।
तर उनीहरुबारे विस्तृत छानबिन सुरु गरेपछि भने लोचन परिवारको नागरिकता समेत नक्कली रहेको पुष्टि भयो ।
सौरभलाई हटाउन भित्र्याइएका पार्टनरले आफैँलाई किकआउट गरेपछि
नेपालमा वार्षिक करिब ५० करोड रुपैयाँ नाफामा रहेको यो कम्पनीबाट सौरभलाई निकालेर अर्का उद्योगपति शशिकान्त खेतान (अग्रवाल) आफ्ना छोरा गौरवलाई उक्त कम्पनीमा भित्र्याउनमा सफल भए । यसैले लोचनसँग वीरगन्जदेखिकै हिमचिम रहेका कारण शशिले आइपर्ने प्रशासनिक र अदालती झन्झटलाई आफूले व्यवस्थापन गर्ने आश्वासन समेत दिएर सौरभविरुद्ध उचालेकोमा अहिले एईसीसको नेपाल बाहेकका अन्य सबै शाखामा केही लगानीमा ५० प्रतिशतको हिस्सा आफ्ना छोराका नाममा लिन सफल भइसकेपछि नेपालमा लोचनमाथि आइलागेको संकटबाट मुक्त गर्न कुनै पहल नगरेकोमा आफू शशीको लहैलहैमा लागेर बर्बाद भएको भन्दै निकटवर्तीसँग सोनुले दुखेसो पोख्ने गरेका बताइन्छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक १, २०७६