विराटनगर : पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थल पुर्याएर फर्किएको कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।
मोरङको सुन्दरहरैँचा नगरपालिका–४ बुधबारे चोकमा ज्ञानेन्द्रलाई विमानस्थल पुर्याएर फर्कने क्रममा ठक्करबाट मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको हो ।
ज्ञानेन्द्रलाई विराटनगर विमानस्थलमा छोडेर फर्किएको बा३च ७९६२ नम्बरको कारले विपरित दिशाबाट आउँदै गरेको को१५प ९९७८ नम्बरको मोटरसाइकललाई राति ९ बजे ठक्कर दिएको थियो । कारको ठक्करबाट मोटरसाइकल चालक इटहरी उपमहानगरपालिका–८ बस्ने २२ वर्षीय प्रकाश चौधरी र मोटरसाइकलको पछाडि सवार वर्ष २२ को हेम चौधरी गम्भीर घाइते भएका थिए ।
घाइते दुवैलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पठाइएकोमा उपचारको क्रममा मोटरसाइकलको पछाडि सवार हेम चौधरीको राति साढे ९ बजे मृत्यु भएको प्रहरी नायक उपरीक्षक घनश्याम श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार कारका चालक दीपेन्द्रप्रसाद लम्साललाई नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति: बिहीबार, चैत २८, २०७५ १५:३६