पोखरा ः नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीलाई प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक कदम भएको बताएका छन् ।
नेपाल प्रेस युनियन कास्की शाखाद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले उक्त दललाई सरकारले प्रतिबन्ध लगाएकाले देशमा फेरि द्वन्द्व चर्किने खतरा रहेको बताए ।
उनले विप्लव पार्टीमाथि प्रतिबन्ध लगाउनु गलत भएको बताए । ‘विप्लव गतिविधि निगरानी गरी नियन्त्रणमा ल्याउने हो, पार्टीमाथि नै प्रतिबन्ध लगाउन त मिल्दैन नि,’ नेता केसीले भने, ‘राजनीतिक पार्टीमाथिको प्रतिबन्ध अलोकतान्त्रिक र संविधान विपरीत छ ।’
जनताको सुरक्षा र स्वतन्त्रताको प्रत्याभूति गराउनु सरकारको दायित्व भए पनि उक्त दायित्वबाट सरकार चुकेको बताउँदै उनले वाइडबडी, फोरजी प्रकरणलगायतमा भएको आर्थिक अनियमितताको स्वतन्त्र छानबिन हुनुपर्नेमा जोड दिए ।
प्रतिपक्षको भूमिका कमजोर भएको भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले काङ्ग्रेस जिम्मेवार प्रतिपक्ष भएकाले आफूहरू संयम र धैर्य बन्नाका साथै लोकतान्त्रिक प्रक्रियाबमोजिम अघि बढिरहेको स्पष्ट पारे । पार्टीलाई नीतिगत एवं नेतृत्वगत रूपमा पारदर्शी ढंगले सुधार गर्ने क्रममा रहेको उनले बताए ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५ १७:३९