काठमाडाैं । उपप्रधानमन्त्रीकाे रुपमा सरकारमा सहभागी उपेन्द्र यादवकाे दल संघीय समाजवादी पार्टी नेपालले सरकार छाेड्ने निर्णय गरेकाे छ ।
कानुनमन्त्री रहेका यादवले मन्त्रालयका तर्फबाट मन्त्रिपरिषदमा लगेकाे संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव प्रधानमन्त्रीले ठाडै रिजेक्ट गरिदिएपछि सरकार पार्टी छाेड्ने मनस्थितिमा पुगेकाे हाे ।
पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागी भएको समाजवादी पार्टीकाे मंगलबार बसेको पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरेको हो ।
पार्टीले सरकार छाडेको औपचारिक घोषणा भने बुधबार गर्ने पार्टीले जनाएकाे छ । पार्टीकाे पदाधिकारी बैठकले सरकार छाड्ने निर्णय गरिसकेकाे छ । सम्भवतः आजै विज्ञप्ति आउँछ हाेला , पार्टीका एक नेताले भने, औपचारिक घाेषणा भने भाेलि २ बजे पत्रकार सम्मेलनमार्फत गरिने छ ।
समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव सरकारमा उपप्रधान एवं कानुनमन्त्री छन् भने सचिव मोहम्मद इस्तियाक राई सहरी विकासमन्त्री छन् ।
गत मंसिर ४ मा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन गर्दा समाजवादी पार्टीलाई कुनै परामर्श नगरी जिम्मेवारी हेरफेर गरेको भन्दै उक्त पार्टीका नेताहरु साथै स्वयं उपेन्द्र यादव पनि असन्तुष्ट थिए ।
त्यतिबेला प्रधानमन्त्रीले स्वास्थ्य मन्त्री रहेका यादवलाई कानुन मन्त्रालयको जिम्मा दिएका थिए । त्यतिबेलै समाजवादीले सरकार छाेड्ने आँकलन गरिए पनि असन्तुष्ट बनेका यादवले कानुन मन्त्रीको जिम्मेवारी भने स्वीकार गरेका थिए ।
तर साेमबार साँझ बसेकाे मन्त्रिपरिषदमा संविधान संशोधनसम्बन्धी अध्ययन समिति प्रस्ताव लैजाँदा प्रधानमन्त्री केपी ओलीले रोकेपछि भने पार्टीले सरकार छाड्ने नै निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकमा उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादवले संविधान संशोधन अध्ययन समिति बनाउने प्रस्ताव लगेका थिए ।
पदाधिकारी बैठकलगत्तै पार्टीले मन्त्रिपरिषद्मा लगेको प्रस्ताव सार्वजनिक गरेकाे छ । यस्तो थियो उपेन्द्र यादवले मन्त्रिपरिषदमा लगेकाे प्रस्ताव:
प्रकाशित मिति: मंगलबार, पुस ८, २०७६