काठमाडौं : नेपाल सरकार समक्ष हिन्दु राष्ट्र पुनःस्थापनालगायत २२ बुँदे माग राखी चरणबद्ध आन्दोलनमा होमिएको राप्रपाले बुधबार र बिहीबार देशव्यापी घरदैलो गर्दै बैशाख ६ गते धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको छ ।
गत फागुन ७ गते प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाई जनसंघर्ष कार्यक्रम घोषणा गरेको राप्रपाले आफ्ना २२ बुँदे मागबारे आमजनतालाई जानकारी दिन, मागका पक्षमा जनमत सिर्जना गर्न भन्दै फागुनमै १५ दिने मेची-महाकाली राष्ट्रिय स्वाभिमान यात्रा सम्पन्न गरिसकेको छ ।
पहिलो चरणको जनसंघर्ष कार्यक्रमअन्तर्गत राप्रपाले हिन्दु राष्ट्र पुनःस्थापना हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक कार्यालयमा धर्ना तथा प्रदर्शन र विकास केन्द्रित कार्यालयमा भ्रष्टाचारको अन्त्यलगायतका मागहरू राखी एक घण्टे धर्ना कार्यक्रम पनि सम्पन्न गरिसकेको छ । पहिलो चरणको तेस्रो कार्यक्रमअन्तर्गत वैशाख ४ र ५ गते देशव्यापी घरदैलो कार्यक्रम प्रारम्भ गरेको राप्रपाले बैशाख ६ गते धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउने भएको हो ।
राप्रपाले बैशाख ६ गतेको कार्यक्रमलाई हिन्दु राष्ट्र पुनःस्थापनाको एजेन्डालाई नयाँ चरणमा लैजाने टर्निङ प्वाइन्ट हुने बताएको छ । राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले वैशाख ६ गतेको कार्यक्रम विगतदेखि हालसम्म सञ्चालन भएको हिन्दु राष्ट्र पुनःस्थापना आन्दोलनको संश्लेषण गर्दै नयाँ चरणमा प्रवेश गर्ने प्रस्थान विन्दुको रूपमा रहने बताए । प्रचार विभाग प्रमुख श्रेष्ठले राप्रपाले वैशाख ६ गते धर्मनिरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रम गर्ने तर यो संविधान जलाउने कार्यक्रम नभएको प्रष्ट पारे ।
उनले भने, संविधानका आधारभूत मान्यतामा हाम्रो असहमति छ, गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताबारे हामीले फरक मत राख्दै संविधानलाई आलोचनात्मक समर्थन गरेका छौँ । संविधानको परिधिभित्र रहेर शान्तिपूर्ण रूपमा आफ्नो मान्यता स्थापित गर्न संघर्षरत छौँ । वैशाख ६ गते रत्नपार्कमा हुने प्रदर्शनमा राप्रपा अध्यक्ष कमल थापा, वरिष्ठ नेता दीपक बोहरा, वरिष्ठ उपाध्यक्ष एवं जनसंघर्षका संयोजक बुद्धिमान तामाङलगायतका नेताहरू सहभागी हुनेछन् ।
राप्रपाले पहिलो चरणको अन्तिम कार्यक्रमको रूपमा वैशाख ८ गते राजमार्ग र चोकहरूमा सत्याग्रह गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । आफ्ना मागहरूबारे सरकार गम्भीर नभए पार्टीको बैठक बसेर दोस्रो चरणको संघर्षका कार्यक्रम सार्वजनिक गरिने पनि प्रचार विभाग प्रमुख श्रेष्ठले बताएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख ४, २०७६ १७:२०