काठमाण्डौं । कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछिको हत्याबारे छानविन गर्न बनेको उच्चस्तरीय समितिले प्रतिवेदन तयार पारेको छ ।
प्रतिवेदन तयारी लगत्तै आइतबार नै बुझाउने तयारी भए पनि गृहमन्त्री रामबहादुर थापा व्यस्त रहेका कारण मंगलबार बुझाउने तयारी रहेको जनाइएको छ ।
घटनाको अनुसन्धानमा देखिएको कमी कमजोरीबारे प्रतिवेदनमा उल्लेख गरिएको समितिका सदस्य वीरेन्द्र केसीले बताए । प्रतिवेदनमा आफूहरुले जे देख्यो त्यही उल्लेख गरेको केसीको भनाइ छ । ‘प्रतिवेदन तयार भएको र यसमा म सन्तुष्ट रहेको बताउँदै उनले आफुहरुले देखेको कुरा जस्ताको त्यस्तै प्रतिवेदनमा लेखेको बताए ।
प्रदेश ७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयको तर्फबाट समिति सदस्य रहेका केसीले समितिको कामप्रति असहमति जनाउँदै राजीनामा दिएका भएपनि पछि फेरि राजीनामा फिर्ता लिएर अनुसन्धानमा जुटेका थिए ।
केसीका अनुसार यो प्रतिवेदनले निर्मलाको हत्यारालाई कानुनी दायरामा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उनको दाबी छ ।
प्रकाशित मिति: आइतबार, असोज ७, २०७५