काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली असंलग्न राष्ट्रहरूको शिखर सम्मेलनमा भाग लिन अजरबैजानको राजधानी बाकु प्रस्थान गरेका छन् । श्रीमती राधिका शाक्यसहित छरितो टोलीको नेतृत्व गर्दै अजरबैजान प्रस्थान गरेका प्रधानमन्त्रीको स्वास्थ्य अवस्था भने उति छरितो नरहेको स्रोतले जनाएको छ ।
हुन त लामो समयदेखि प्रधानमन्त्री बिरामी नै छन् । सोही बिमारको निदानका लागि भन्दै उनी केही समयअघि लामो सयम सिंगापुर बसेर फर्किएका थिए । एक महिनाको सिंगापुर बसाइमा उनलाई के उपचार गरियो र उनको स्वास्थ्यको वास्तविक समस्या के हो र समाधानका लागि के गरियो भन्ने विस्तृत विषय बाहिर ल्याइएको थिएन । प्रधानमन्त्रीको स्वास्थ्यप्रति व्यापक जनचासोका बाबजुद औपचारिक रूपमा निजी चिकित्सकले एउटा संक्षिप्त प्रेस नोट सार्वजनिक गरे पनि विस्तृत सार्वजनिक गरिएन ।
ग्रान्डी अस्पताल उच्च स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि गत शनिबार दिउँसो उनलाई गोप्यरूपमा ग्रान्डी अस्पताल पुर्याइएको थियो । मिर्गौलाबाट पानी लिक हुने समस्या देखिएपछि उनलाई गोप्यरूपमा अस्पताल पुर्याइएको थियो ।
गोप्यता कायम गर्न उनलाई अस्पताल लाने समयमा यति सावधानी अपनाइएको थियो कि उनको सवारी सादा पोसाकका सुरक्षाकर्मीले गोप्यरूपमा चलाएका थिए । अस्पताललाई पनि सोही बमोजिम कुनै पनि सूचना बाहिर लिक नगर्ने गरी व्यवस्था मिलाउन आग्रह गरिएको थियो । अस्पतालमा प्रधानमन्त्री पत्नी राधिका शाक्यबाहेक प्रधानमन्त्रीको सचिवालय, पार्टी नेता या अन्य कुनै पनि व्यक्ति गएका थिएनन् ।
पहिलो कुरा त त्यसबारे कसैलाई जानकारी गराइएन । कहीँकतैबाट जानकारी पाएर गएकाहरूलाई पनि प्रवेश गर्न दिइएको थिएन । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओली अस्पताल भर्ना भएको जानकारी पाएका उनका समकालीन एक जना वरिष्ठ नेता अस्पताल पुगेपछि सादा पोसाकका सुरक्षाकर्मीबीच मुखामुख भएको थियो । अस्पतालका चिकित्सकले उनी पार्टीको नेता भएकाले भेट्न जान दिन आग्रह गरे पनि सुरक्षाकर्मीले आदेश लिने भन्दै रोकेका थिए ।
आदेश लिन भनी भित्र प्रवेश गरेका सुरक्षा अधिकारी ‘माफ गर्नुहोस्, अहिले कसैलाई पनि भेट्न अनुमति छैन’ भन्दै बाहिर आएका थिए । अस्पतालका चिकित्सकबाट जानकारी पाएर त्यहाँ पुगेका ती नेता भेट्नै नपाई घर फर्किएका थिए ।
शनिबार दिउँसो अस्पताल पुर्याइएका प्रधानमन्त्री ओली अबेर साँझ बालुवाटार फर्किएका थिए । उनलाई के भएको थियो र किन अस्पताल लैजानुपरेको थियो भन्नेबारे भने अस्पतालले गोप्य विषय भन्दै जानकारी दिन मानेन ।
प्रधानमन्त्री ओलीलाई त्यस दिन अस्पताल ल्याइएको बारे गरिएको प्रश्नमा अस्पतालको उच्च नेतृत्वले भन्यो, ‘यो अति गोप्य कुरा हो । हामीले भन्न मिल्दैन ।’ चिकित्सकहरूले तत्कालीन समाधान निकाली घर पठाइएको बुझिएको छ ।
त्यसको दुई दिनपछि थानकोट नौबिसे सुरुङ मार्गको उद्घाटन समारोहमा देखिएका प्रधानमन्त्री ओलीले बसेरै दिएको भाषणमा ‘काम भएन भनेर कुरा काट्नेहरूले अब काम काट्न सुरु गर्नुपर्ने’ अभिव्यक्ति दिएका थिए ।
प्रकाशित मिति: बिहीबार, कात्तिक ७, २०७६