काठमाडौँ । सेभेन समिट ट्रेक्सका अध्यक्ष मिङ्मा शेर्पा हिमपहिरोका कारण फसेका आरोहीको उद्धारका लागि काठमाडौँबाट हेलिकप्टर लिएर सामागाउँ पुगेको बताएका छन् ।
मनास्लु आरोहणका लागि सम्पर्क अधिकृत तोकिएकी यशोदा अर्यालले केही व्यक्तिको हताहती भएको खबर आए पनि पुष्टि नभएको बताइन् । आफू अहिले सामागाउँमै रहेको उनले जानकारी दिइन् । सामागाउँ उत्तरी गोरखाको अन्तिम गाउँ हो । अहिले मनास्लु आधार शिविरको मौसम सफा नभएको पनि उनले जानकारी दिइन् । अहिले हिमपहिरोमा फसेका व्यक्तिहरूको उद्धारका लागि काठमाडौँबाट सामागाउँमा कैलाश एयरको एउटा हेलिकप्टर अवतरण भइसकेको उनले बताइन् ।
त्यस्तै पर्यटन विभागका निर्देशक युवराज खतिवडा हिमपहिरो गएको पुष्टि गरे पनि त्यहाँ रहेका व्यक्तिसँग सम्पर्क नभएको बताए ।
त्यस्तै इलिट एक्पिडिसनका सञ्चालकसमेत रहेका आरोही निर्मल पुर्जाले मनास्लुमा हिमपहिरो गएको जानकारी दिँदै आफ्नो कम्पनीबाट गएका सबै आरोही सुरक्षित रहेको जानकारी दिएका छन् । पुर्जाको समूहले यस पटक मनास्लुबाट प्याराग्लाइडिङ गर्ने अनुमति लिएको छ ।
यस पटक शरदयामका लागि ८ हजार मिटर भन्दा अग्ला तीनसहित १५ वटा हिमाल आरोहण गर्न शुक्रबारसम्म पर्यटन विभागले ५ सय ५ जना विदेशीलाई अनुमति दिएको छ । विभागका निर्देशक खतिवडाका अनुसार, शुक्रबारसम्म १५ हिमाल आरोहणका लागि ५८ वटा आरोहण दलमा १ नेपालीसहित ५ सय ६ जनालाई अनुमति जारी गरिएको छ ।
विभागका अनुसार, यी आरोहण दलमा १ सय २३ महिला र ३ सय ८३ पुरुषसहित ५ सय ६ जना सदस्य रहेका छन् । यसपटक सबैभन्दा धेरै गोरखाको मनास्लु हिमाल आरोहण गर्न ३८ वटा अरोहण दललाई अनुमति दिइएको छ । यसमा ९७ महिला र ३ सय ७ पुरुषगरी ४ सय ४ सदस्य छन् ।
मनास्लुपछि धौलागिरि हिमालका लागि ३४ जना , हिमलुङ हिमालका लागि १२ जनालाई आरोहण अनुमति दिइएको छ । अरु १२ वटा हिमालमा न्यूनतम २ देखि १० जना सम्मलाई अनुमति दिइएको छ । शरदयाममा सर्वाधिक आरोहणका लागि मनास्लु र अमादब्बलम हिमाल विदेशीहरुमाझ लोकप्रिय मानिन्छ ।
प्रकाशित मिति: सोमबार, असोज १०, २०७९