कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चमध्ये अहिलेसम्ममा विकास बजेटको कुनै पनि काम अगाडि बढेको पाइएको छैन ।
किसानका लागि प्राङ्गारिक खेती, रैथाने बाली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम, उच्च बाली पुष्प खेती र वन तथा वातावरण गरी विभिन्न शीर्षकमा प्राप्त भएको बजेट अहिलेसम्म कार्यान्वयन हुन नभएको कृषि ज्ञान केन्द्र काभ्रेपलाञ्चोकले जनाएको छ ।
केन्द्रका प्रमुख कृष्णभद्र अधिकारीका अनुसार बजेट पटक-पटक गरी प्राप्त भए पनि ढिला गरी प्राप्त भएका कारण कार्यान्वयन ढिला भएको हो । प्रदेश सरकारले फागुन महीनामा मात्रै बजेट पठाएका कारण कार्यान्वयनको काम शून्य भएको उनले बताए ।
उनका अनुसार प्रदेश सरकारले नै कार्यान्वयन प्रक्रिया अगाडि बढाउन सूचना जारी गरी काम गर्न अख्तियारी प्राप्त भए पनि त्यसको कार्यान्वयनको प्रक्रिया बल्ल शुरु भएको छ । किसानले गर्ने कार्यमा समूहगत र सहकारी संस्थामार्फत गर्ने कामको सूचना प्रदेश सरकारले नै जारी गरी निवेदन आह्वान भएर त्यसलाई प्रक्रियामा लैजाने कार्यमा भइरहेको उनले बताए ।
प्रदेश सरकारबाट अख्तियारी ढिला आएका कारण कार्यान्वयनमा ढिला भएको हो , अधिकारीले भने, हामी अब कार्यान्वयनको चरणमा छौं, आर्थिक वर्ष शुरु भएको करीब आठ महीनापछि अख्तियारी प्राप्त भएकाले कतिसम्म खर्च गर्न सकिन्छ हेरौं । सकेसम्म बजेटको शीर्षक अनुसार कार्यान्वयन गरिने उनले बताए ।
नमोबुद्ध नगरपालिका दाप्चाका किसान गोकुल तिमल्सिनाले सरकारले आह्वान गरेको सूचना वास्तविक किसानसम्म नपुगेको कारण के कस्ता खालका काम गर्न किसानलाई निवेदन आह्वान गरेको छ, भन्ने विषयमा जानकारी पाउन नसकेको बताए ।
यस्ता खाले सूचना वास्तविक किसानसमक्ष भन्दा पनि जिल्ला घुम्नेले मात्रै पाइरहेका हुन्छन्, वास्तविक किसानसम्म त्यो सूचना पुग्दा समयको सिमा सकिसकेको हुन्छ , उनले भने, निवेदन हाल्ने किसानले पनि अरुलाई जानकारी नदिने भएका कारण पनि थोरै व्यक्तिले मात्रै त्यस्ता खाले कार्यक्रम हात पार्ने गरेका छन् । उनले समानुपातिक ढङ्गले कार्यक्रम वितरण गर्नुपर्ने बताए ।
कृषि ज्ञान केन्द्रमा किसानका हितका लागि काम गर्न भन्दै प्रदेश सरकारले प्राङ्गारिक खेतीमा रु एक करोड ५४ लाख ३५ हजार विनियोजन गरेकामा जम्मा रु १९ हजार खर्च भएको छ भने रैथाने बालीका लागि रु ६५ लाख पाँच हजार, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमका लागि रु ६८ लाख ४५ हजार, उच्च बाली र पुष्पखेतीका लागि रु एक करोड एक लाख २० हजार, वन तथा वातावरणमा रु २९ लाख विनियोजन गरेको छ ।
सबै शीर्षकमा गरी फागुन मसान्तसम्ममा रु सात करोड ४१ लाख ५५ हजार ८९६ प्राप्त भएको कृषि ज्ञान केन्द्रका लेखापाल अखिल खड्काले बताउनुभयो । त्यस्तै सङ्घीय सर्शत अनुदान र प्रशासनिक बजेट मात्र खर्च भइरहेको बताइएको छ । प्रदेश सरकार अन्तर्गत रहेका कृषि ज्ञान केन्द्र धुलिखेलले काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक गरी दुई जिल्ला हेर्ने जिम्मा पाएको छ ।-रासस
प्रकाशित मिति: बुधबार, चैत ६, २०७५ १९:०६