पाँच मेगावाट विद्युत् क्षमताको इस्टर्न जलविद्युत् आयोजना ।
भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरको पहिलो पाँच मेगावाट क्षमताको इस्टर्न हाइड्रोपावर आयोजनाको काम करिब ९९ प्रतिशत पूरा भएको आयोजनाले जनाएको छ ।
काम अन्तिम चरणमा पुगको बताउँदै आयोजनाका जनसम्पर्क अधिकृत दीपेन राईले यही महिनाभित्रमा सञ्चालन गर्नेगरी अहिले काम भइरहेको बताए । आयोजनास्थलदेखि विद्युत् प्राधिकरणको सबस्टेसनसम्म ट्रान्समिसन लाइनको काम समेत भइसकेको उनले बताए ।
प्राविधिक कारणबस झण्डै साढे पाँच वर्ष बन्द भएको आयोजनाको कामले तीव्र गति लिएपछि सम्झौताअगावै सकिन लागेको हो । करिब एक अर्ब १४ करोड रूपैयाँको लगानीमा बन्ने आयोजनाको सम्पूर्ण काम पिपिए अनुसार आर्थिक वर्ष ०७५÷०७६ को असार मसान्तभित्र नै सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख भए अनुसार सोही अनुरूप काम पनि अगाडि बढेको आयोजनाले जनाएको छ ।
कामले तीव्रता पाएपछि आयोजनाको सम्पूर्ण काम यसै महिनाभित्रमा सम्पन्न गरी सञ्चालनको तयारी थालिएको हो । ०६२ सालमा तत्कालका लागि नेपाल विद्युत् प्राधिकरणसँग ४५ करोडको लगानीमा २ दशमलब ५ मेगावाट क्षमताको विद्युत् उत्पादन हुनेगरी सम्झौता अनुरूप आयोजनाको सर्भे गरेपश्चात् ०६७ सालमा आयोजनाको काम सुरु गरियो ।
भोजपुर–लेगुवा सिमानाको अरुण नदीमा पुल नहुनाले यातायात ढुवानीमा समस्या र ०७२ सालको महाभूकम्पले गर्दा आयोजनाको काम पूर्णतः ठप्प थियो । पछि ०७२ साल फागुन अन्त्यतिर क्षमता बढाएर पाँच मेगावाट पु¥याउने सम्झौता अनुरूप आयोजनाको कामको पुनः सुरु गरिएको थियो ।
आयोजना सम्पन्नपछि उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारणमा जोडिएपछि विद्युत्मा समस्या नहुने जनसम्पर्क अधिकृत राईले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५