विराटनगर : पाँचौं संस्करणको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) मा नेपालले सेमिफाइनलमा श्रीलंकासँग सामना गर्ने भएको छ ।
आइतबार भएको समूह ‘बी’ मा भारतले श्रीलंकालाई ५–० ले पराजित गरेपछि सेमिफाइनलमा भिड्ने टीमको तय भएको हो । फाइनल प्रवेशका लागि बुधबार बिहान ११ बजे नेपाल र श्रीलंका तथा बुधबार दिउँसो ३ बजे भारत र बंङ्लादेशबीच भिडन्त हुने छ ।
आइतबार विराटनगरको शहीद रंगशालामा सम्पन्न लिग चरणको अन्तिम खेलमा प्रतियोगिताको प्रबल दाबेदार भारतले श्रीलंकालाई एकतर्फी रूपमा ५–० पाखा लगायो । श्रीलंकालाई निरीह पार्दै भारतको लागि पूर्वाद्र्धको चौथो मिनेटमा नै अग्रता लियो । भारतकी खेलाडी सञ्जुको पासमा ग्रेस दाङमेलले गोल गर्दै खेलमा अग्रता दिलाइन् ।
पहिलो गोल गरेको तीन मिनेट बित्न नपाउँदै भारतले अर्को गोल ग¥यो । सन्जुको पासमा नै भारतकी सन्ध्या रङ्नाथेनले गरेको प्रहारले जाली चुमेपछि भारतले दुई गोलको अग्रता लियो । अधिकांश समय रक्षात्मक खेलेको भारतले खेलको ३२औं मिनेटमा तेस्रो गोल थप्यो । श्रीलंकाको रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै इन्दुमति कातिरसेनले गरेको प्रहारलाई गोलरक्षक आयोमि बिजयारत्नेले बचाउने कुनै अवसर पाइनन् ।
पूर्वाद्र्धको ४२औं मिनेटमा भारतको अग्रता फेरि बढ्यो । डि–बक्सभित्र श्रीलंकाकी खेलाडी रुसानी गुनाबद्धनेले ह्यान्ड गरेपछि पाएको पेनाल्टीलाई सदुपयोग गर्दै संगीता बाजपारेले अर्को गोल गर्दै भारतलाई पूर्वाद्र्धसम्ममा ४–० को स्थितिमा लगिन् ।
मन्यान्तरपछि भने भारतले एक गोल मात्र गर्न सक्यो । उत्तराद्र्धको पहिलो मिनेटमा नै भारतकी रतनमालादेवीले गोल गर्दै भारतको गोल संख्यालाई बढाउँदा श्रीलंकाले समूहको उपविजेतामा मात्र चित्त बुझाउनुपरेको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५