काठमाडौं : हङकङमा भएको एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका धावक अजितकुमार यादवले ऐतिहासिक उपलब्धि दिलाएका छन् । उनले तीन हजार मिटर दौडमा स्वर्ण पदक जितेका हुन् ।
नेपालको एथ्लेटिस्कको इतिहासकै यो अहिलेसम्मकै माथिल्लो तहको उपलब्धि हो । उनले सो दूरी ८ मिनेट ३० दशमलब ३२ सेकेन्डमा पूरा गर्दै स्वर्णपदक जितेका थिए । सो स्पर्धामा भारतका अमित जंगिर दोस्रो स्थानमा आए । उनले ८ मिनेट ३६ दशमलब ३४ सेकेन्डमा लक्ष पूरा गरे । तेस्रो स्थानमा यमनका गामिल अल हामातीले ८ मिनेट ३८ दशमलब ६० सेकेन्डमा पूरा गरे । सो स्पर्धामा १५ जना खेलाडीको सहभागिता थियो ।
अजितका प्रशिक्षक धनिराम चौधरी हुन् । एथ्लेटिक्स संघ सुस्त भइरहेको भए पनि खेलाडी र प्रशिक्षकको व्यक्तिगत प्रयासका कारण अजितले यो उपलब्धि हासिल गरेका हुन् । अजितको प्रदर्शनबाट निकै आशावादी भएर सुनिल राजवंशीले निकै मेहेनत गरेर अन्तिम समयमा अजितलाई एसियन च्याम्पियनसिपका लागि नाम दर्ता गराउन सफल भएका थिए । यो च्याम्पियनसिप १५–१७ मार्चमा हङकङमा भएको हो ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५