विराटनगर : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्दको नेकपालाई अनधिकृत समूहको संज्ञा दिएका छन् ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीमा प्रधानमन्त्री ओलीले सो समूह मान्यताप्राप्त संस्था समेत नभएको प्रष्ट पारे ।
‘जुन संस्था विधिवत छैन, यस्तो झुण्डलाई सरकारले चिन्दैन’, उनले भने । प्रधानमन्त्रीले विप्लव समूह राजनीतिक दल नभएको उल्लेख गर्दै उक्त समूहले गरेका विध्वंसात्मक गतिविधिमाथि मात्रै प्रतिबन्ध लगाइएको जनाए ।
विप्लव समूहका बारेमा धारणा राख्दा सचेत हुन प्रधानमन्त्रीले नेताहरूलाई आग्रह गरे । ‘नेपालका नेताजीहरूलाई आग्रह गर्न चाहन्छु, आफैँलाई जवाफ दिन नसक्ने कुराहरू नगर्नुस्, उनको पार्टी कहीँ दर्ता भएको थियो र ? दर्ता छैन । नेकपा विप्लव समूह भनेर चिनिने झुण्ड कहिले कोब्रा समूह भनेर चिनिने, कहिले के भनेर चिनिने जस्तै हो’, उनले भने ।
विप्लव समूहप्रति निक्कै आक्रोसित मुद्रामा देखिएका ओलीले सो समूहलाई प्रतिबन्धसँगै नियन्त्रण समेत गर्ने चेतावनी दिए । सरकारको कदमलाई ठट्टाको रुपमा नलिन आग्रह गर्दै उनले सो समूहले धम्क्याएर लुटपाट गरेको आरोप लगाए । विभिन्न समूहसँग वार्ता गर्न सरकारले गरेको आग्रहलाई समेत बेवस्ता गरेको उल्लेख गर्दै उनले भने, ‘बम पड्काएको छ । मान्छे मारेको छ । त्यस्तो झुण्डलाई प्रतिबन्ध लगाउँदा लोकतान्त्रिक पार्टी र नेता भनाउँदालाई रुवाबासी किन ?’
मोरङको कटहरीमा नवनिर्मित फलफूल तथा तरकारी थोक बजारस्थलको उद्घाटन गर्न आएका प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिमण्डलमा कुनै हेरफेर नहुने समेत प्रष्ट पारे ।
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५