काठमाडौं : नेपालको उत्तरतिर रहेको हिमालमाथिबाट चिनियाँ रेल हुइँकिएको हेर्ने धोको पालेको धेरै भइसक्यो नेपालीले । २०७४ सालमा भएको निर्वाचनमा त आफ्नो पार्टीले बहुमत ल्याएर सरकार बनेमा चिनियाँ रेल पाँच वर्षभित्र भित्र्याउने घोषणा नै गरे केही राजनीतिक दलले । २०७२ मा गएको विनाशकारी भूकम्प र त्यसलगत्तै भारतले गरेको अमानवीय नाकाबन्दीको पीडा भोगेका नेपाली जनताले चीनसँग सम्बन्ध बढाउने, सडक र रेलमार्ग जोड्ने र भारतले हेपेका बेला चीनले च्याप्ने आशामा भोट दिए र रेल ल्याउने घोषणा गर्ने पार्टीको नेतृत्वमा सरकार बनेको एक वर्ष पूरा भइसकेको छ ।
रेल ल्याउने पाँचमध्ये एक वर्ष पूरा हुँदा चिनियाँ रेलको चर्चा कम सुनिन थालेको छ । सिगात्सेबाट केरुङ हुँदै काठमाडौं रेलभन्दा देशका नदीनालामा पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको छ ।
कति छ रेलमार्ग ?
सिगात्सेबाट केरुङ हुँदै काठमाडौंसम्मको रेलमार्ग करिब ५७२ किलोमिटर हुन्छ । चीनको १३औँ पञ्चवर्षीय योजना (सन् २०१६–२०२०) मा परेको सिगात्से–केरुङ रेलमार्ग सन् २०२२ सम्ममा सम्पन्न हुनेछ । केरुङ–काठमाडौं करिब ७२ किलोमिटर रेलमार्ग निर्माण गर्नुपर्ने हुन्छ । केरुङ–काठमाडौं रेलमार्ग, यसको सम्भाव्यता अध्ययन, यसका चुनौती, प्रि–फिजिविलिटी अध्ययनलगायतका विषयमा नेपाली र चिनियाँ टोलीबीच छलफल भएको छ ।
जटिल रेलमार्ग
केरुङ–काठमाडौैं रेलमार्ग निकै चुनौतीपूर्ण छ । यो रेलमार्ग निर्माणमा अवसर र चुनौती दुवै छन् । यो रेलमार्ग निर्माणमा चिनियाँ पक्षको उत्साह र चीनले अघि सारेको ‘वान रोड, वान बेल्ट’ अन्गर्गतको परियोजना हुँनु नै नेपालसम्म रेलमार्ग जोडिने प्रमुख आधार हो । यो रेलमार्ग निकै कठिन भौगोलिक क्षेत्रमा डिजाइन गर्नुपर्नेछ । तिब्बतको ल्हासादेखि सिगात्सेसम्म रेलमार्ग बनिसकेको छ । अब त्यहाँबाट केरुङ हुँदै काठमाडौंसम्म ५७२ किलोमिटर रेलमार्ग निर्माण सम्पन्न गर्नुपर्नेछ, जसमा चिनियाँ क्षेत्रमा काम धमाधम अघि बढिरहेको छ ।
किन जटिल छ ?
– यो रेलमार्ग हिउँले ढाकिएको हिमाली क्षेत्र हुँदै उच्च हिमाली र पहाडी क्षेत्र पार गरेर काठमाडौं ल्याइपु¥याउनुपर्नेछ । यहाँका कतिपय क्षेत्रमा हिउँ जम्ने खोँच र गल्छी छन् ।
चिनियाँ क्षेत्रतर्फ सडकमार्गको संरचना निर्माण भइसकेकाले रेलमार्ग निर्माण सामग्री ढुवानीमा सहजता हुनेछ तर नेपालतिरको भूभागमा यी सबै संरचना पनि निर्माण गर्नुपर्ने भएकाले समय बढी लाग्नेछ ।
– केरुङबाट काठमाडौं आउन रेलले धेरै ओरालो बाटो पार गर्नुपर्छ । रेलको आफ्नै स्ट्याण्डर्ड हुन्छ । रेलले करिब १०० मिटरको दूरी पार गर्दा बढीमा ३ मिटर मात्रै ओरालो मार्गमा जान सक्छ । त्यसैले अग्ला पहाड, खोँच, बेँसी भएको हाम्रो भौगोलिक संरचनामा रेलमार्गको डिजाइनदेखि यसको निर्माण कार्य सम्पन्न गर्दासम्म विशेष सावधानीपूर्वक काम गर्नुपर्छ ।
रेल आउने कुरा ठूलो कुरा होइन । रेल ल्याएर हामीले त्यसलाई कसरी बढीभन्दा बढी हाम्रो समृद्धिका लागि प्रयोग गर्छौं भन्ने महत्त्वपूर्ण कुरा हो । नेपालमा रेल ल्याउने चर्चा चलिरहँदा रेलका विषयमा अध्ययन गरेका विज्ञ हामीसँग छैनन् ।
– रेलको यो मार्ग निर्माणका लागि सबै कुरामा ‘स्पेसलाइज्ड’ गर्नुपर्छ । दोहोरो ब्रेक सिस्टम, फलामको लिकमा घर्षण हुँदा तात्ने भएकाले कुलिङ सिस्टम सँगै चाहिन्छ भने हिउँ जम्ने हिमाली क्षेत्रमा हिउँ पगाल्ने व्यवस्था पनि सँगै गर्नुपर्नेछ ।
– हाम्रो भौगर्भिक अवस्थिति पनि जटिल छ । नेपाल इन्डियन प्लेट र तिब्बतीयन (युरेसियन) प्लेटको बीचमा पर्छ । सन् १९९० देखि १९९६ सम्म गरेको अध्ययनअनुसार इन्डियन प्लेटले तिब्बतीयन प्लेटलाई वार्षिक १७ एमएमदेखि २२ एमएमसम्म धक्का दिइरहेको छ । यो प्लेट अहिले पनि सक्रिय छ । यो रेलमार्ग एउटा भौगर्भिक प्लेट पार गरेर अर्को भौगर्भिक प्लेटसम्म आइपुग्नुपर्नेछ । यस्तो जटिल भौगर्भिक प्लेट पार गर्ने यो रेल्वे पहिलो हुनेछ ।
हामीले यो भौगोलिक संरचनामा रेलमार्ग निर्माण गर्न सुरुङ खन्नुपर्ने या पुल उठाउनुपर्ने हुन्छ । सुरुङ र पुलमा पनि निश्चित गहिराइ र उचाइभन्दा माथि लैजान सकिँदैन । हाम्रोमा कतिपय तातोपानीका मुहान छन् । ती मुहानहरू भौगर्भिक तातोपनले तातेर आएका हुन् । त्यो तातोपन सुरुङभित्र पनि हुन्छ । तीव्र गतिको रेल एकैछिनमा माइनस तापक्रमबाट तातो स्थानमा पुग्दा आउनसक्ने प्राविधिक समस्यासमेत सहन गर्न सक्ने डिजाइन यहाँ निर्माण गर्नुपर्छ ।
पहाड, हिमाल, खोँच सबै पार गरेर मात्रै हुँदैन, त्यहाँ सुरुङ र पुललाई पनि भौगोलिक अवस्थिति र भौगर्भिक जटिलता धान्ने खालको बनाउनुपर्छ । पहाडमा पहिरो या भूकम्प जस्ता प्राकृतिक प्रकोप यसले धान्नुपर्ने हुन्छ ।
रेल ल्याएर हामीले के गर्ने ?
रेल आउने कुरा ठूलो कुरा होइन । रेल ल्याएर हामीले त्यसलाई कसरी बढीभन्दा बढी हाम्रो समृद्धिका लागि प्रयोग गर्छौं भन्ने महत्त्वपूर्ण कुरा हो । नेपालमा रेल ल्याउने चर्चा चलिरहँदा रेलका विषयमा अध्ययन गरेका विज्ञ हामीसँग छैनन् । रेलसम्बन्धी तालिम लिने, चिनियाँ रेलविज्ञहरूसँग काम गर्न र सिक्न पठाउन ढिला गर्नुहुँदैन । विश्वविद्यालय तहमा नै रेलका विषयमा अध्ययनको व्यवस्था गर्न सक्ने हो भने हामीले विदेशी जनशक्ति ल्याएर नेपालमा रेल कुदाउन लगाउनुपर्दैन । रेलको चालक विमान चालकभन्दा विशेष ज्ञान भएको हुनुपर्छ । चालक तथा रेल चलाउन आवश्यक जनशक्ति पनि तयार पार्नुपर्छ ।
कहिले आउला त रेल ?
कठिन स्थानमा निर्माण हुने रेलमार्ग एउटा महत्त्वपूर्ण अनुभव र आविष्कारको अवसर पनि हो । चीन ‘वान बेल्ट, वान रोड’को परियोजना अघि बढाइरहेको छ । यो रेलमार्ग निर्माणको प्रतिबद्धता जनाएको चीन प्राविधिक र आर्थिक दुवै हिसाबले बलियो छ । हामीलाई रेल चाहिएको छ, उनीहरू रेलमा नयाँ आविष्कार गर्न चाहन्छन् । संसारकै जटिल भौगर्भिक क्षेत्रमा बन्ने यो रेलमार्ग रेलका विद्यार्थीका लागि अध्ययन अनुसन्धानको थलो बन्न सक्छ । यो रेलमार्ग निर्माणका लागि चीनको सरकारी कल्सल्टिङ फर्म फस्र्ट सर्भे एन्ड डिजाइनिङ इन्ष्टिच्युटले अध्ययन गरिरहेको छ । तर यो बन्न निकै ढिला हुन्छ । यसको पूर्ण अध्ययनका लागि मात्रै दुई वर्षभन्दा लामो समय लाग्छ । यो अध्ययनपछि माथि उल्लेखित जटिलताको समाधानसहितको रेलमार्ग निर्माण गर्नुपर्छ ।
यो रेलमार्ग अध्ययन गरिरहेको टोली निकट स्रोत भन्छ, ‘रेलमार्ग निर्माणका लागि सबै सामग्रीहरू पूर्ण रूपले उपलब्ध गराउँदा पनि यो निर्माण सम्पन्न हुन १२ वर्ष अर्थात् सन् २०३२ सम्म लाग्छ ।’
प्रकाशित मिति: आइतबार, चैत ३, २०७५