काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापतिको पद भनेको आफ्ना लागि फाटेको जुत्ता भएको बताएका छन् । कांग्रेस सर्लाही काठमाडौं सम्पर्क समितिको आयोजनामा शनिबार भएको होली तथा नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले यस्तो बताएका हुन् ।
‘बीपी कोइराला प्रधानमन्त्री पदलाई फाटेको जुत्ता हो भन्नुहुन्यो । प्रधानमन्त्री बन्न राजनीति गरेको होइन भन्नुहुन्थ्यो,’ उनले भने, ‘सभापति पद पनि मेरा लागि फाटेको जुत्ता हो । कहिले कसले लाउँछ, कहिले कसले लाउँछ । सभापति बन्नका लागि मैले राजनीति गर्न होइन ।’ उनले आफु सारनाथमा बस्दा कांग्रेसका धेरै शहीद भएको र उनीहरू आफ्ना लागि दाइ जस्तै भएको बताए । उनीहरूले बीपीको एउटा भाषणमा ज्यान दिन तयार भएको भन्दै उनीहरूको बलिदान र पुराना कार्यकर्ताहरूको अनुहार हेरेरै राजनीतिमा आएको बताए ।
अर्को सन्दर्भमा उनले आफू रगतले बीपीपुत्र भए पनि जसले बीपीको सिद्धान्त र आदर्श बोक्न उही बीपीपुत्र भएको बताए । उनले भने, ‘ बीपीको जुन सपना छ त्यसलाई साकार पार्नु छ । बीपीको समृद्ध राष्ट्र बनाउने सपना पूरा गर्न राजनीति गरेको हुँ ।’
उनले कांग्रेसभित्र एकअर्काविरुद्ध वैरभावको अन्त्य गर्न पनि आग्रह गरे । भोलिका दिनमा आफूहरू एकजुट भए कांग्रेसलाई कसैले हराउन नसक्ने उनको दाबी थियो । सभापति वा वरिष्ठ नेतालाई गाली गर्ने आफ्नो काम नभएको बताउँदै उनले आफू पार्टीलाई बलियो बनाउने काममा लागेको पनि बताए ।
कार्यक्रममा केन्द्रीय सदस्य अर्जुननरसिंह केसी,चन्द्र भण्डारी, कल्याणकुमार गुरुङ,सांसद अमरेश सिंह लगायतले धारणा राखेका थिए । नेता गुरुङले राजनीतिक विषयमा मात्र होइन मधेसको पर्यावरण विग्रँदै गएकोतर्फ पनि ध्यानदिनुपर्नेमा जोड दिए । नेता केसी र भण्डारीले कांग्रेस सभापति देउवाबाट नचल्ने बताए ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५