काठ्माडौं : एकीकृत विकास समाज नेपाल (आईडीएस) को १८औं साधारणसभा सम्पन्न भएको छ । शनिबार सम्पन्न साधारणसभामा कार्यक्रमका कार्यकारी निर्देशक प्रकाश कोइरालाले चालु आर्थिक वर्षको कार्याक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको कार्यक्रम अनुसार चालु आर्थिक वर्षमा साढे छ करोड बराबरको कार्यक्रम सञ्चालनमा छ ।
नेपालको १७ वटा जिल्लामा कार्यक्रम सञ्चालनमा छ । सरसफाइ, खानेपानी, स्वास्थ्य, कृषि, नवीकरणीय उर्जा लगायतको क्षेत्रमा काम गरिरहेको आईडीसले जनाएको छ । त्यस्तै जलवायु, जैविक विविधता, सामुदायिक सिकाइ, फोहोरमैला व्यवस्थापनका क्षेत्रमा पनि काम गरिरहेको कार्यकारी निर्देशक कोइरालाले बताए ।
साधारणसभामा वर्षभरि उत्कृष्ट काम गर्ने कर्मचारीमध्येबाट दुईजनालाई नगदसहित पुरस्कृत गरिएको छ । पुरस्कृत हुने बझाङका कार्यक्रम अधिकृत रमानन्द जोशी र दैलेखकी सामाजिक परिचालक सपना शाही छन् । आर्थिक वर्ष २०६०/०६१ बाट एकजनालाई पुरस्कृत गर्दै आएकोमा यस वर्ष दुई जनालाई पुरस्कृत गरिएकाले यस पुरस्कारलाई उत्साह र हौसलाको रुपमा लिएर थप राम्रो काम गर्न आईडीएसका अध्यक्ष डा राजेन्द्रप्रसाद अधिकारीले सुझाव दिए ।
शुभकामना व्यक्त गर्दै सल्लाहकार डा दिनेशचन्द्र देवकोटाले आईडीएसले विद्यालय, सामुदाय र विकट क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै थप कम गर्न शुमकामना दिए । त्यस्तै फन्डबाेर्डका कार्यकारी निर्देशक लीलाप्रसाद ढाकालले समाजको विकासको एनजीओको भूमिका महत्वपूर्ण रहेकाले यस कार्यमा आईडीएस नेपालको महत्वपूर्ण योगदान रहेको बताए । संस्थापक अध्यक्ष प्रभा पाेखरेलले आईडीएसको काम राम्रो रहेकाले थप कार्य गर्न शुभकामना व्यक्त गरिन् ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५