विराटनगर : पाँचौं संस्करणको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप)मा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । बंगलादेशलाई ३–० ले हराउँदै नेपालले सेमिफाइनलको यात्रा तय गरेको हो ।
समूह विजेता बनेको नेपालको जितमा सावित्रा भण्डारी, मञ्जलीकुमारी योन्जन र कप्तान निरु थापाले राम्रो प्रदर्शन गरे । पूर्वाद्र्धको पाँचौं मिनेटमा नेपाली फरवार्ड सावित्राले वान् भर्सेस वान्को स्थितिमा राम्रो अवसर गुमाइन् । बंगलादेशकी गोलरक्षक रुपना चक्मालाई सहजै पार गर्न नसक्दा बल पोस्ट छेउबाट वाहिरिएको थियो । लगतै नेपालका खेलाडीले गरेको प्रहार बचाउन खोज्दा आत्मघाती गोल हुन पुग्यो । बंगलादेशको खेलाडी मसुरा प्रविनले हेडिङ गरेर बचाउन खोज्दा आत्मघाती गोल हुन पुगेको थियो ।
आत्मघाती गोलको उपहार पाएको नेपालले खेलको नवांै मिनेटमा अर्को अवसर गुमायो । कप्तान निरु थापा वान् भर्सेस वान्को अवस्थामा गरेको ‘चिप’ पोस्ट माथिबाट बाहिरियो । तर खेलको २२औँ मिनेटमा सावित्रा भण्डारीले सुन्दर गोल गर्दै खेललाई २–० को अवस्थामा पु¥याइन् । नेपालले २७ मिनेटमा अर्को गोल थप्यो । सावित्राको पासलाई सदुपयोग गर्दै मञ्जलीकुमार योन्जनले गरेको प्रहार बंगलादेशकी गोलरक्षक चक्माले रोक्न सकिनन् ।
३ गोलले पछि परेको बंगलादेशले केही काउन्टर एट्याकको प्रयास नगरेको होइन । तर नेपाली डिफेन्डरले बंगलादेशको प्रयासलाई सहजै निस्तेज पारेका थिए । मध्यान्तरअघि गोल फर्काउने प्रयास गरे पनि नेपाली डिफेन्डरको अगाडि उनीहरूको केही जोर चलेन । उत्तराद्र्धको ५२ मिनेटमा बंगलादेशकी रुपना चक्माको प्रहारलाई नेपालकी निरु थापाले क्लियर गरिदिइन् ।
खेलको ५७ मिनेटमा नेपालले अर्को अवसर गुमायो । नेपाली खेलाडी सावित्रा भण्डारीले बंगलादेशको पोस्टमा गरेको आक्रमण गोलरक्षकले बचाइन् । केही सुधारिएको प्रदर्शन गरेको बंगलादेशले खेलमा त्यस्तो कुनै गोल गर्ने अवसर सिर्जना गर्न सकेन । खेलको ६२औं मिनेटमा बंगलादेशले गोल गर्ने अवसर गुमायो । बंगलादेशकी संजिता अख्तरको प्रहारलाई नेपाली गोलरक्षक एन्जिला तुम्बाफो सुब्बाले सहजै बचाउ गर्दा नेपालको अग्रता कायमै रह्यो । बाँकी रहेको समयमा दुबै तर्फबाट कुनै गोल हुन नसकेपछि नेपालले ३–० गोल अन्तर पराजित गर्न सफल रह्यो ।
समूह ए मा नेपाल नेपाल समूह विजेता र नेपालसँगको हारपश्चात् पनि बंगलादेश समूह उपविजेता हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । स्थानीय शहीद रंगशालामा आइतबार लिग चरणको अन्तिम खेल श्रीलंका र भारतबीच हुने छ ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५