विराटनगर : सिके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले बोलाएको राष्ट्रिय परिषद्को बैठक आइतबारबाट सिरहाको लहानमा बस्दै छ । सो बैठकमा सहभागिता जनाउन आउनेले अनिवार्य रुपमा नागरिकताको प्रमाण पत्र ल्याउनुपर्ने भएको छ ।
सिके राउतको अफिसियल फेसबुक पेजमा शनिबार दिउँसो सूचना जारी गर्दै नेपाल सरकार र मधेस गठबन्धनबीच भएको ११ बुँदे सहमति र आगामी रणनीतिको विषयमा छलफल गर्न बैठक बोलाइएको उल्लेख गरिएको छ । बैठकमा सहभागी हुन आउनेले नागरिकताको प्रमाणपत्र लिएर आउन समेत आग्रह गरिएको छ ।
तर नागरिकता किन ल्याउनुपर्ने हो, त्यसको कारणबारे केही खुलाइएको छैन । दुई दिनसम्म चल्ने बैठक आकस्मिक भएको उल्लेख गर्दे परिषद्को बैठकपश्चात् विस्तारित बैठक र भेटघाटको कार्यक्रम समेत राखिएको जनाइएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५