भोजपुर पूर्वी पहाडी जिल्ला भोजपुरको पश्चिमी क्षेत्र टेम्केमैयुङ गाउँपालिकाको छिनामखुमा पहिलोपटक होमस्टे संचालनमा आएको छ । ‘गोठेसिं’ होमस्टे सञ्चालनमा आएसँगै अग्र्यानिक स्वाद र सत्कारले पर्यटकसमेत लोभ्याउन थालेको छ ।
नेपाल सरकारले एक सय पर्यटकीय गन्तव्यमध्ये भोजपुरको टेम्केडाँडा ‘मुन्दुम ट्रेल’ लाई सूचीकृत गरेसँगै यहाँ घुम्न आउने बाह्य तथा आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि हुन थालेको छ । फुर्सदलाई सदुपयोग गर्दै आफ्नो परिवार, साथीभाइसँग टेम्केडाँडा घुम्न आउने पर्यटकका लागि ‘गोठेसिं होमस्टे’ पनि प्रमुख रोजाइमा पर्न थालेको हो ।
टेम्केमैयुङ गाउँपालिका वडा नम्बर २ छिनामखुको श्यामशिलामा रहेको होमस्टे भोजपुर सदरमुकामदेखि ४२ किलोमिटर पश्चिममा पर्छ । किँराती संस्कारको न्यानो आतिथ्य, अग्र्यानिक मीठो खाना र आरामदायी सस्तो बासस्थानबाट सुन्दर प्राकृतिक सुन्दरता नियाल्ने पर्यटकका लागि यो होमस्टे जिल्लामा एकमात्र पर्यटकीय गन्तव्यका रूपमा परिचित हुँदै छ ।

टेम्केमैयुङ गाउँपालिकाको श्यामशिलामा सञ्चालित ‘गोठेसिं होमस्टे’ ।
गत भदौ पहिलो हप्ता स्थानीय प्रकाश राईले करिब २६ लाख रुपैयाँको निजी लगानीमा व्यावसायिक होमस्टे सञ्चालन गरेका हुन् । आफ्नै ५७ रोपनी जग्गामा सञ्चालन गरेको होमस्टेमा टेम्के, चखेवाडाँडाको अवलोकनपछि विश्राम गर्ने पर्यटक बढी आउने सञ्चालक राईले जानकारी दिए । ‘होमस्टे खोलेपछि यहाँको पर्यटन विकाससँगै यसले आम्दानीको स्रोत पनि बढाएको छ’, राईले भने, ‘यहाँ आउने पाहुनाहरूलाई सक्दो आफ्नै हातले अग्र्यानिक स्वाद दिने कोसिस गरिरहेको छु । प्रतिक्रिया पनि राम्रै पाएको छु ।’
गाउँपालिका क्षेत्रमा पहिलोपटक खुलेको होमस्टे अन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने राम्रो माध्यम बनेपछि गाउँपालिका पनि त्यसको संरक्षण र विकासमा जुटेको छ । होमस्टेलाई प्रबद्र्धन र प्रोत्साहन गर्न टेम्केमैयुङ गाउँपालिकाले भौतिक पूर्वाधारको पहुँच पुर्याइदिने भएको छ । गाउँपालिकाले होमस्टेसम्म बिजुलीबत्ती र तीन सय मिटर दूरीको सडक पु¥याउन प्रबन्ध मिलाउने गाउँपालिका अध्यक्ष धु्रवराज राईले बताए ।
जिल्लामा निकै चर्चा कमाएको होमस्टेको नाम मात्र सुनेका बस्नेत साथीहरूसँग गएर प्राकृतिक सुन्दरतासँगै भरपुर मनोरञ्जन गरेर फर्किएको बताउँछन् ।
सुन्दर टेम्केडाँडा चुचुरोबाट तराईका सुन्दर हरिया फाँट, कञ्चनजंघा, मकालु लगायत उत्तरतर्फ सेताम्मे मनोरम हिमशृंखला, सुन्दर हरिया डाँडाखर्क, खोटाङको दिक्तेल र भोजपुर सदरमुकाम र अनगिन्ती प्राकृतिक सुन्दरताको भरपुर मनोरञ्जन लिन सयौँको संख्यामा यहाँ पर्यटकहरू चक्कर लगाउने गर्छन् ।
टेम्केडाँडा र चखेवाडाँडा घुम्न आएका षडानन्द नगरपालिका दिङ्लाका श्रीकृष्ण बोगटी भन्छन्, ‘जिल्लामा नै पहिलोपटक सञ्चालनमा ल्याइएको होमस्टेको स्वादलाई अझै पनि मैले भुल्न सकेको छैन । त्यहाँ पुग्दा तन, मन, मष्तिस्क फ्रेस भयो ।’ बोगटीले अनुभव सुनाए, ‘प्राकृतिक सुन्दरता र पारिवारिक वातावरणमा रम्न चाहनेहरूका लागि यो होमस्टे एकदमै राम्रो रहेछ ।’ पारिवारिक वातावरण, किँराती संस्कृति र स्वादिष्ट परिकारले होमस्टे बसाइ रमाइलो भएको उनले सुनाए ।

घुम्न जाने क्रममा होमस्टे पुगेका भोजपुरका अर्जुन बस्नेत घुमिसकेपछि खान र आरम गर्न होमस्टे प्रभावकारी बनेको बताउँछन् । जिल्लामा निकै चर्चा कमाएको होमस्टेको नाम मात्र सुनेका बस्नेत साथीहरूसँग गएर प्राकृतिक सुन्दरतासँगै भरपुर मनोरञ्जन गरेर फर्किएको बताउँछन् ।
टेम्केडाँडा मुन्दुम पदमार्गमा पर्ने भएकाले यहाँ घुम्न आउने पर्यटकका लागि आरामदायी बिसौनी बनेको गोठेसिं होमस्टेमा बस्न नचाहने कमै हुन्छन् । किराँती संस्कार अनुसार मीठो भोजनका परिकार र स्वागत सत्कारले यहाँ आउने पर्यटकका लागि पुनः फर्केर जान लालायित गराउँछ ।
सुरुमा सामूहिक रूपमा व्यावसायिक होमस्टे खोल्ने प्रस्ताव गरिए पनि गाउँका स्थानीयले चासो नदिएपछि आफू एक्लैले हिम्मत गरको सञ्चालक राईले जनाए । हाल ४० पाहुना क्षमताको भए पनि विस्तारै कटेजहरू थप्दै जाने उनले बताए । पर्यटकलाई माछाको स्वाद दिलाउने उद्देश्यले राईले छ वटा प्लास्टिक पोखरी बनाएर ट्राउट माछा पनि पालेका छन् ।
प्रकाशित मिति: शनिबार, चैत २, २०७५