काठमाडौं : चीन वान बेल्ट वान रोड (ओबीओआर) को अवधारणलाई सहयोग गर्ने उद्देश्यले नयाँ वर्षको अवसरमा एमकेडब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, एमकेडब्लु चीनको समन्वयन र नेपाल रिङ रेस्लिङ संघको आयोजना २८ वैशाखमा २०७६ मा एम के डब्लु बेल्ट एन्ड रोड च्याम्पियनसिप हुने भएको हो ।
शुक्रबार पत्रकार सम्मेलन मार्फत नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापाले बीआरआईको माध्यमबाट समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान हुने भएको र यसबाट नेपाललाई समेत लाभ हुने भएकाले यो च्याम्पियनसिप नेपालमा आयोजना गरिएको बताइन् । यसअघि वान बेल्ट वान रोड च्याम्पियनसिप चीनमा भएको थियो ।
‘
खेलकुदको माध्यमबाट समेत चीन र नेपालको सम्बन्धलाई बलियो बनाउन केही योगदान दिने हामीले विश्वास लिएका छौं’, थापाले बताइन् । त्रिपुरेश्वरस्थित कर्भडहलमा २८ वैशाखका दिन ३ बजे हुने प्रतियोगितामा छ देशका टप रेस्लरहरूको सहभागिता हुने छ ।
प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इंग्ल्यान्ड, हङकङ, न्युजिल्यान्डका खेलाडीहरूको सहभागिता रहेको छ । नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरी अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागिता हुने छ । चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरी हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन् । न्युजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदीप पाण्डे, कुबेर केसी, विकास खड्का रहने आयोजकले जनाएको छ ।
प्रतियोगितामा दुइटा बेल्ट बिजेता घोषणा गरिने छ । जसमा बेल्ट एन्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको बेल्ट प्रदान गरिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोप एन्ड कर्नरका प्रतिस्पर्धाहरू गराइने छन् ।
यो प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान गरिएको र राखेपले पनि सहयोग गरेको थापाले बताइन् । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार छ ।
संघले २०७३ को वैशाखमा पहिलो पटक पहिलो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप गरेको थियो । त्यसपछि नियमित रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिप गर्दै आएको थापाले बताइन् ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५