विराटनगर : शुक्रबार दिउँसो ११ः ५५ बजे यति एयरलाइन्सको काठमाडौँ–विराटनगरको नियमित उडान थियो । सो उडानबाट संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित विराटनगर आउँदै थिए । सोही एयरलाइन्सको उडानबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइराला काठमाडौँ जाने तरखरमा थिए ।
विराटनगर विमानस्थलको भीआईपी कक्षमा मन्त्रीको स्वागतमा नेकपाका स्थानीय नेता सत्यनारायण चौधरी, युवा संघका केन्द्रीय उपाध्यक्ष पर्शुराम बस्नेत, अनेरास्ववियुका केन्द्रीय सचिव वसिम आलम पुगेका थिए । कांग्रेसका केन्द्रीय सदस्य कोइरालालाई बिदाइ गर्न भने उनका केही कार्यकर्ता पुगेका थिए । कोइराला पनि जहाजको पर्खाइमा भीआईपी कक्षमा अडिए ।
जहाजले निर्धारित समयमा नै विमानस्थलमा अवतरण ग¥यो । नेकपाका नेता कार्यकर्ता मन्त्री पण्डितको स्वागतमा धावन मार्गतर्फ लम्किए । त्यो समय कोइरालाले भने भीआईपी कक्षमा बिताए । मन्त्री सरासर भीआईपी कक्षतर्फ लम्किए, अनि देखे राजनीतिक प्रतिस्पर्धी कोइरालालाई । ‘तपाईं सन्चै हुनुहुन्छ’, औपचारिकता पूरा गर्दै मन्त्री पण्डितले कोइराला सोधे ।
केन्द्रीय सदस्य कोइरालाले भने, ‘अँ सन्चै छु । काठमाडौँ जान लागेको ।’ पण्डितले पनि आफू मन्त्रालयको कार्यक्रममा सहभागी हुन विराटनगर आएको जानकारी दिए । करिब ५ मिनेट जति भीआईपी कक्षमा बिताएका उनीहरूले त्यस्तो कुनै राजनीतिक कुरा भने नगरेको अनेरास्ववियुका सचिव तथा मन्त्री पण्डितका पूर्व स्वीकय सचिव वसिम आलमले बताए ।
मन्त्री पण्डित र कांग्रेस केन्द्रीय सदस्य कोइराला प्रतिनिधिसभाको निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ बाट चुनावी मैदानमा होमिएका थिए । तत्कालीन नेकपा एमालेबाट उम्मेदवार बनेका पण्डित र कांग्रेसको तर्फबाट उम्मेदवार बनेका कोइरालाको चुनावी भिन्डत निकै रोचक थियो । कांग्रेसको पकड रहेको क्षेत्र नम्बर ६ मा पण्डितले चुनाव जितेपछि उनीहरूबीच निकै कम भेट हुन्थ्यो । मन्त्रीका पूर्व स्वीकय सचिव वालमले भने, ‘वहाँहरूबीचमा कहिलेकाहीँ कुनै कार्यक्रममा आक्कलझुक्कल भेट हुन्थ्यो । शुक्रबार चाँहि संयोग नै मान्नुपर्छ । विमानस्थलमा वहाँहरूबीच लामै भेट भएको हो ।’
प्रतिनिधिसभा निर्वाचनका बेला उम्मेदवार बनेका पण्डितले आफूले चुनाव जिते, सर्वप्रथम साइकल चढेर कोइराला निवास पुगेर पराजित डा. शेखर कोइरालालाई मिठाई खुवाउने अभिव्यक्ति दिएर चर्चा बटुलेका थिए । विराटनगरको आदर्श स्कुलमा निर्वाचनको अन्तिम परिणामको घोषणाबाट विजयी बनेका पण्डितले त्यो बेला पनि भनेका थिए, ‘अब चुनाव जितेँ । वहाँसँग समय माग्छु, समय दिनुभयो भने साइकल चढेर नै वहाँलाई मिठाई खुवाउँछु ।’ तर पण्डितले अहिलेसम्म आफूले गरेको त्यो घोषणा पूरा गरेका छैनन् ।
प्रतिनिधिसभाको निर्वाचन २०७४ मा पण्डितले कोइरालालाई ६७५ मतले पराजित गरेका थिए । पण्डितले ३३९४१ मत ल्याउँदा कोइरालाले ३३२६६ मत मात्र प्राप्त गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५