विराटनगर : विराटनगर महानगरपालिका वडा नम्बर १ स्थित पोखरियामा पोखरिया माविको गेटैछेउको पर्खाल प्रचारजन्य सामग्रीले पोतिएको छ । कतै घर रंगाउने रंगको प्रचार छ, कतै बिस्कुट र चाउचाउको विज्ञापन । दिनहुँ विद्यार्थी आउजाउ गर्ने स्थानमा उनीहरूलाई नै आकर्षित गरी पोतिएका विज्ञापनले विद्यालय मात्र होइन नगरका विभिन्न स्थान नै कुरूप बनेका छन् ।
सो विद्यालयको करिब तीन सय मिटर पूर्वपट्टि एक हुल युवाको जमात भने भिन्नै अभियानमा जुटेको थियो, केही दिन पहिले । वडा नम्बर ३ को कार्यालय छेवैमा ती युवाको हातमा रंग र ब्रस नै थियो । उनीहरू त्यहाँ कुनै कम्पनीको प्रचार गर्न वा प्रबद्र्धन गर्न नभएर सचेतनाका लागि जुटेका थिए । युवा अभियन्ता विनोद परियारले भने, ‘विद्यालय छेउमा त्यसरी कुरूप पारिरहँदा जनचेतनाका लागि केही गरौँ भन्ने भावनाले चेतनामूलक काममा अग्रसर भयौँ ।’ उनीहरूले त्यहाँको खालि पर्खालमा लैंगिक हिंसा, ट्राफिक चेतना लगायतका सामग्रीले रंगाएका थिए ।
परिवर्तनका लागि हातेमालो नामक अभियान चलाएका बिराटनगरका करिब चार सय युवा अहिले साप्ताहिक रूपमा समाज परिवर्तनको कार्यमा अग्रसर भएका छन् । उनीहरूले यो अभियान सुरु गरेको ५० हप्ता पूरा भइसकेको छ । विराटनगर पुष्पलाल चोक निवासी विनोद परियारले एक दिन साथीसँग सल्लाह गरे । यसरी युवा जनशक्ति ‘बेकाम’ भएर बस्नुहुन्न । उनले आफूसँग मिल्ने साथीहरू तुलसी घिमिरे, राम पोखरेललाई आफ्नो योजना बताए । घिमिरे र पोखरेललाई पनि परियारको सोचाइ मन पर्यो । अनि उनीहरूले आफ्ना केही साथीभाइलाई यो कुरा भने । त्यसपछि उनीहरू नगरका विभिन्न स्थानमा सफाइ गर्न जुटे ।
आफूसँग भएको केही रकम जुटाएर उनीहरूले यो अभियानलाई फेसबुकको माध्यमबाट व्यक्त गरे । सरसफाइ अभियान सुरु गरेलगत्तै धेरै युवा यो अभियानमा सहभागी भए । विगतलाई सम्झिँदै परियारले आजको न्यूजसँग भने, ‘त्यतिबेला अष्ट्रेलियामा रहनुभएका दाइले पाँच हजार तत्कालै सहयोग गर्नुभयो । त्यहीँबाट हामीले यो अभियानलाई निरन्तरता दियौँ ।’
उनीहरूकाे समूहमा आबद्ध करिब चार सय युवा हरेक शनिवार बिहान विराटनगरको कुनै एक स्थानलाई सफाइ गर्ने निधो गर्छन् र सोही अनुसार सरसफाइ गर्छन् । विराटनगर महानगरले मात्र नगर सफाइक लागि मासिक ११ लाख ४० हजार रूपैयाँ बेष्ट मेनेजमेन्टलाई खर्चिन्छ । महानगरका ४८ जना कर्मचारी र बेष्ट मेनेजमेन्टका करिब दुई सय कर्मचारी फोहोर व्यवस्थापनमा दैनिक खट्छन । तर सरसफाइमा भने त्यस्तो कुनै परिवर्तन छैन । त्यतिबेलाको अवस्थालाई मूल्याकंन गर्दै परियारले भने, ‘सुरुमा हामीले संकलन गरेको फोहोर जम्मा गरेर महानगरको गेटमै गएर धर्ना दियौँ । हाम्रो जायज विषयलाई महानगरले पनि सम्बोधन गर्यो । हामीले सम्बन्धित निकायलाई यसरी जगाउने कामलाई जारी राखेका छौँ ।’
सो समूहले विराटनगरको कोसी अञ्चल अस्पताल, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय, विराटनगरका विभिन्न स्थान र कटहरी गाउँपालिकामा सरसफाइ गरिसकेको छ । हालै मात्र जिल्ला प्रशासन कार्यालय मोरङमा गैरसरकारी संस्थामा दर्ता भएको परिवर्तनका लागि हातेमालोले देशभर सामाजिक सञ्जाल फेसबुकबाट सदस्यता बनाइरहेको छ । सो संस्थामा फेसबुकको माध्यमबाट करिब १३ हजार युवा आबद्ध भएका छन् ।
सरसफाइको ५० हप्ता पूरा भएको अवसरमा सो संस्थाले पर्खालमा चेतनामूलक सामग्रीले रंगाउने अभियान सुरु गरेको हो । अहिले पुस्तकालय स्थापना गर्ने अभियानमा जुटेको परिवर्तनका लागि हातेमालोमा सदस्य बन्नका लागि पुस्तक अभियान सुरु गरेको छ । ‘हाम्रो संस्थामा सदस्य बन्न सहज छ’, अध्यक्ष परियारले भने, ‘हाम्रो पुस्तकालय खोल्ने अभियान छ । त्यो अभियानलाई सार्थक बनाउन तपाईहरूसँग पुस्तक छ भने दिनुहोस्, हाम्रो संस्थाको सदस्य बन्नुहोस् ।’
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५