काठमाडाैँ : पत्रकार भीषण राईद्वारा निर्देशित चलचित्र पुरानो बुलेट आज देशभर रिलिज भएको छ । अनुपविक्रम शाही, वर्षा सिवाकोटी र माला लिम्बूको मुख्य अभिनय रहेको फिल्मका निर्माता अशोककुमार राई, वीरेन साम्बा, टीकाराम राई र दीपेन लिम्बू हुन् भने कार्यकारी निर्माता सन्तोष राई हुन् ।
अर्जुन जिसीले सम्पादन गरेको फिल्ममा सिनेम्याटोग्राफी हरि घले लामाले गरेका हुन् । सिनेमामा कृष्णभक्त महर्जन, कविता आले, शिव मुखिया, शिरोमणि दवाडी, दिवज राईलगायतको अभिनय छ ।
शुक्रबार रिलिज भएको सिनेमाको प्रचार गर्न पूरै फिल्म युनिट नै कुमारी हल पुगेको थियो । फिल्म हेरिसकेपछि पत्रकारहरुसँग कुरा गर्दै कलाकार अनुपविक्रम शाहीले समग्रमा फिल्म धेरै राम्रो भएको प्रतिक्रिया दिए । त्यस्तै वर्षा सिवाकोटी र माला लिम्बूले पनि युनिटमा सबैको सहयोगले काम गर्न सहज भएको बताए । सिवाकाटीले भनिन्, ‘मैले स्क्रिप्ट पढ्दा र सुटिङमा जस्तो गरेकी थिएँ, अहिले पूरै फिल्म हेर्दा मैले सोचेभन्दा पनि राम्रो गरेको रहेछु भन्ने थापा पाएँ ।’
सिवाकाटीले फिल्म हेर्दा आफू कतिपटक भावुक भएको र कतिपटक हाँसिरहेको जनाइन् । कलाकार कविता आलेले दुवै मुख्य अभिनेतृ सिवाकोटी र लिम्बूले फिल्ममा राम्रो अभिनय गरेको बताइन् ।
पत्रकारिताबाट निर्देशनमा हात हालेका भीषण राईले आफूले फिल्मलाई सकेसम्म राम्रो बनाउने प्रयास गरेको बताए । टिममा सबैको साथ र सहयोग पाएकाले पनि फिल्म राम्रो बनाउन सफल भएको उनको भनाइ थियो । उनले आम नेपाली दर्शकलाई हलसम्म गएर फिल्म हेरेर प्रतिक्रिया दिन आग्रह गरेका छन् ।
फर्स्ट शाे मा कलाकारहररू :
तस्वीर र भिडियाे : मुनाल केसी
हेर्नुस् ट्रेलर :
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५