भोजपुर : दुर्गम पहाडी जिल्ला भोजपुरका ग्रामीण क्षेत्रमा समेत इन्टरनेट सेवा सुरु भएको छ । नेपाल टेलिकमले जिल्लाका ग्रामीण क्षेत्रमा सेवा पु¥याउन नसकिरहेको अवस्थामा निजी कम्पनी सुबिसुको इन्टरनेट सेवा गाउँगाउँमा पुगेको हो ।
स्थानीय तहको निर्वाचन भएर गाउँमा नै सरकारी सेवा उपलब्ध हुन थालेपछि भोजपुरको गाउँगाउँमा अहिले इन्टनेट माग गर्नेको संख्यामा समेत वृद्धि हुन थालेको छ । नेपाल टेलिकमले मोबाइलको टावरबाहेक इन्टरनेटको सेवा दिन नसकेपछि निजी कम्पनीका इन्टरनेट प्रदायकसमेत स्थानीय तह प्रवेश गरेका हुन् ।
निजी कम्पनी सुबिसुका भोजपुर जिल्ला प्रतिनिधि पवन श्रेष्ठ अहिले आफ्नो सेवा गाउँकेन्द्रित बनाएको बताउँछन् । उनी भन्छन्, ‘इन्टरनेट माग गर्नेको संख्यामा वृद्धि भएको छ, गाउँपालिकाहरूमा पनि निजी बैंकहरू समेत खुलेका छन्, जसले गर्दा इन्टरनेट सेवा अनिवार्य भएको छ ।’
भोजपुरमा दुई नगरपालिका र सात गाउँपालिका छन् । अरुण, पौवादुम्मा, दक्षिणको हतुवागढी, रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिका तथा षडानन्द र भोजपुर नगरपालिकामा सुबिसुको इन्टरनेट पहुँच पुगेको प्रतिनिधि श्रेष्ठले बताए ।
जिल्लाको उत्तरमा रहेको साल्पा सिलिछो गाउँपालिका र दक्षिणमा रहेको आमचोक गाउँपालिकामा पनि सेवा पु¥याउने तयारी भइरहेको श्रेष्ठको भनाइ छ । सुबिसुले जिल्लामा अहिले ताररहित सेवा दिइरहेको र अब फाइबरमार्फत सेवा दिने योजना बनिरहेको जनाएको छ ।
नेपाल टेलिकम भोजपुरका कर्मचारी रमेश सुवेदी नेपाल टेलिकमको इन्टरनेट सेवा सदरमुकाममा जस्तो गाउँगाउँमा पुग्न नसकेकाले निजी कम्पनीलसेवा विस्तार गरिरहेको बताउँछन् । उनले भने, ‘बजार क्षेत्रमा एडीएसएल सेवा प्रभावकारी छ, तर गाउँमा पनि टेलिकमका वाईम्याक्स सेवा भने केहीले चलाइरहेका छन् ।’
भोजपुरमा सुबिसुले सरकारी कार्यालय र स्थानीयलाई गरेर करिब दुई सय वटा इन्टरनेट जडान गरेको छ । भोजपुर–८ का सन्तोष खड्का भन्छन्, ‘नेपाल टेलिकमको सेवा घरसम्म पुगेका छैन, जसले गर्दा निजी कम्पनीको इन्टरनेट जडान गरेर चलाउँदै छु ।’
प्रकाशित मिति: शुक्रबार, चैत १, २०७५