विराटनगर :
सावधान ! अपरिचित व्यक्तिसँग विभिन्न माध्यमबाट हुने चिनजान र बन्ने सम्बन्ध सदैव सुखद् हुन्छ भन्ने हुँदैन । त्यसखाले चिनजान र बनेको सम्बन्धले अपराधलाई बढावा दिन सक्ने उदाहरण हालै मोरङ जिल्लामा घटेको छ । रेडियो कार्यक्रमको माध्यमबाट भएको चिनजानले मोरङको उर्लाबारीमा एक बालिका बलात्कारको सिकार बन्नु परेको छ ।
एक रेडियो कार्यक्रमको माध्यमबाट मोरङ उर्लाबारी–३ का २५ वर्षीय जेम्स क्षेत्री भन्ने चन्द्रमणि आचार्यले मोरङ लेटाङकी १३ वर्षीया बालिकासँग चिनजान बढाए । सोही चिनजानका आधारमा मोबाइल नम्बरसमेत आदानप्रदान गरेका आचार्यले बालिकालाई विभिन्न बहनामा ललाइफकाई गरे ।
घटना विवरण अनुसार रेडियो कार्यक्रमको माध्यमबाट चिनजान भएपछि अभियुक्त आचार्य बालिकालाई भेट्न भन्दै गत शुक्रबार लेटाङ नै पुगेका थिए । प्रहरीका अनुसार आचार्य र पीडित बालिकाको त्यो पहिलो भेट थियो । पहिलो भेटपछि बालिकामाथि गिद्दे नजर राखेका आचार्यले आफ्नो गलत उद्देश्य पूरा गर्न विभिन्न उपायको खोजी गर्न थाले । सोही मुताविक उनले बालिकालाई ‘गिफ्ट’ दिएर फकाउने मनासाय राखे ।
इलाका प्रहरी कार्यालय, उर्लाबारीका अनुसार शुक्रबारको भेटपछि आचार्यले बालिकालाई गिफ्ट दिने बताउँदै भेट्नका लागि शनिबार महेन्द्र राजमार्गमा पर्ने कानेपोखरीमा बोलाएका थिए । लेटाङ महेन्द्र राजमार्गबाट उत्तरतर्फ पर्छ भने उर्लाबारी महेन्द्र राजमार्गसँगै जोडिएको नगरपालिका हो । ‘गिफ्ट’ को लोभमा परेकी ती बालिका शनिबार दिउँसो कानेपोखरी पुगेकी थिइन् ।
आचार्य र ती बालिकाको कानेपोखरीमा भेट भएपछि आचार्यले पुनः अर्को नाटक रच्दै ‘गिफ्ट’ आफूले घरमा बिर्सिएको बताएका थिए । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाका अनुसार मोरङको मिक्लाजुङमा समेत घर भएका आचार्यले उर्लाबारी मंगलबारेमा रहेको घरमा ललाइफकाई लगेका थिए । घरमा कोही नभएको मौकामा आचार्यले ती बालिकालाई दिउँसै बलात्कार गरेको प्रहरी बताउँछ ।
बलात्कारमा संलग्न आचार्यलाई प्रहरीले मिक्लाजुङमा रहेको उनको घरबाट मंगलबार पक्राउ गरेको छ । पक्राउ परेका आचार्यलाई हिरासतमा राखी मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम अदालती प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५