भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरका कृषकहरू मौरी पालनतर्फ आकर्षित हुन थालेका छन् । मह उत्पादनबाट आय आर्जनमा समेत सहजता आउन थालेपछि जिल्लामा पछिल्लो समयमा मौरीपालन व्यवसायतर्फ कृषकहरूको आकर्षण बढ्न थालेको हो ।
सदरमुकामपूर्वको पौवादुम्मा गाउँपालिकाका कृषकहरूमा समेत अहिले मौरीमोह देखिएको छ । कृषकहरू मौरी व्यवसायमा लागेपछि पौवादुम्मा गाउँपालिकाले कृषकहरूलाई ७५ प्रतिशत अनुदानमा मौरी घार समेत वितरण गरेको छ । पौवादुम्मा गाउँपालिकाको नीति तथा कार्यक्रम अन्तर्गत गाउँपालिकाका चार वटा वडाका कृषकलाई मौरीघार वितरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए । उनले भने, ‘कृषकहरूले गाउँपालिकाबाट ७५ प्रतिशत अनुदानमा मौरीघार पाएका हुन् ।’
अध्यक्ष राईका अनुसार गाउँपालिकाको ७५ प्रतिशत अनुदानको सात लाख ५० हजार र कृषकको २५ प्रतिशत दुई लाख ५० हजार गरी १० लाखले मौरीघार खरिद गरी वितरण गरिएको हो । वडा नम्बर ६ ठुलोदुम्मामा एक सय १० घार, वडा नम्बर ५ सानोदुम्मामा २० घार, चार नम्बर वडा बास्तिममा ८० घार र वडा नम्बर ३ को च्याङग्रेमा ४० घार वितरण गरिएको छ ।
गाउँपालिकाले वितरण गरेको सहयोगबाट मौरीपालक कृषकलाई समेत मद्दत पुगेको अध्यक्ष राईको भनाइ छ । अध्यक्ष राईले भने, ‘मह उत्पादन गरी आर्थिक उपार्जनमा समेत मौरीपालक कृषकलाई सहज भएको छ । गाउँपालिकाले कृषकहरूका लागि तालिमको समेत व्यवस्था गर्ने योजना बनाइरहेको अध्यक्ष राईले जानकारी दिए ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५