चितवन : गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणस्थलमा मङ्गलबार धुर्मुस–सुन्तली फाउण्डेशनले स्थानीयवासीसँग अन्तरक्रिया गरेको छ । भरतपुर महानगरपालिका वडा नं १५ र १६ का स्थानीयवासीसँग अन्तरक्रिया गरेको हो ।
सो अवसरमा रङ्गशालाको सहयोग सङ्कलनको अवस्था, भावी कार्यक्रम, निर्माण प्रक्रियालगायतका विषयमा छलफल भएको थियो । फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस र उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तलीले सबैलाई सहयोग गर्न आग्रह गरे । सङ्कलित रकम पारदर्शी ढङ्गबाट खर्च गरिनेमा विश्वास दिलाउँदै नेपालकै महत्वपूर्ण सम्पत्तिका रुपमा रङ्गशाला हुने उनीहरुको भनाइ थियो । स्वदेश तथा विदेशमा रहेका नेपालीहरु सहयोगका लागि उत्सुक र आतुर भएको भन्दै उहाँहरुले सम्पूर्ण नेपालीको लगानीबाट विश्वकै नमूना रङ्गशाला निर्माण गरिने बताए ।
धुर्मुस–सुन्तली फाउण्डेशनलेले हालसम्म रु पाँच करोडभन्दा बढी आर्थिक सङ्कलन गरिसकेको छ । सबै खेल खेल्न सकिने गरी अत्याधुनिक रङ्गशाला निर्माण गरिदैछ । रङ्गशाला निर्माणस्थलमा स्थानीयवासीले श्रमदान गरी काम गर्न शुरु गरिसकेका छन् ।
-रासस
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५