काठमाडाैं : नेपाली कांग्रेसका प्रवक्ता विश्प्रवप्रकाश शर्माले आफैबाट फुटेर गएको एउटा सानो समूहलाई पनि मूलधारमा ल्याउन नसकेको भनी सरकारको आलोचना गरेका छन् ।
उनले पहाड जत्रै उचाइ र विशाल आकार बनाइसकेको तत्कालीन माओवादीलाई विश्वासमा लिएर कांग्रेसले मूलधारको राजनीतिमा ल्याएको स्मरण गर्दै एउटै राजनीतिक विचारधारा बोकेर हिँडेको एउटा सानो समूहलाई विश्वासमा ल्याउन सक्ने क्षमताको अभाव दखिएका भन्दै ट्वीटर ह्यान्डलबाट सरकारप्रति टिप्पणी गरेका छन् । कांग्रेसको त्यो निर्णय क्षमता स्मरण गराउन उनले प्रचण्ड र गिरिजाप्रसाद कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गर्दै गरेको तस्वीर पनि पोष्ट गरेका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विप्लव नेतृत्वको नेकपामाथि सुरक्षाको कारण देखाउँदै प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । निर्णयपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र प्रचण्डलाई मार्न विप्लवले मान्छे खटाएका कारण बाध्य भएर प्रतिबन्ध लगाउनुपर्ने बताएका थिए ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५