काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्धन लगाएर मात्र समस्या समाधान नहुने बताएको छ । सरकारले विप्लवको नेकपामाथि प्रतिबन्ध लगाएको बारे प्रतिक्रिया दिँदै कांग्रेस सहमहामन्त्री डा प्रकाशशरण महतले प्रतिबन्ध लगाएर मात्र समस्या समाधान नहुने बताए ।
उनले सरकार गठन भएको एक वर्षसम्म पनि सो पार्टीसँग गम्भिर वार्ता गर्न सरकार चुकेको बताए । ‘यो सरकारले विप्लव नेकपालाई हलुका रुपमा लियो । वार्ता टोली भनेर हलुका किसिमले बनाइयो,’ महतले आजको न्युजसँग भने, ‘औपचारिक रुपमा प्रतिबन्ध घोषणा गरेर मात्र सरकारको जिम्मेवारी पूरा हुँदैन ।’
उनले कांग्रेसको चासोको विषय देशले फेरि हिंसाजन्य गतिविधि र चन्दाआतंक अब थेग्न नसक्ने भन्दै त्यसलाई रोक्न र जनतालाई शान्तिसुरक्षाको प्रत्याभूति दिलाउन सरकार कति प्रभावकारी हुनसक्छ भन्नेमा रहेको बताए । उनले नेपाली कांग्रेस शान्ति र कानुनी शासनको पक्षमा रहेको भन्दै संविधानभित्रै रहेर राजनीतिक गतिविधिमा आउन पनि आग्रह गरे ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५