निरोज कोइराला
भोजपुर : पूर्वी पहाडी जिल्ला संखुवासभा र भोजपुरका स्थानीय तहमा अलैँची जोन कार्यक्रम सुरु भएको छ ।
संखुवासभाका १० वटा स्थानीय तह र भोजपुरका छ स्थानीय तहमा अलैँची जोन कार्यक्रम सुरु भएको हो । संखुवासभा जिल्लाका १० स्थानीय तहका २९ वडामा र भोजपुरका छ स्थानीय तहका ३० वडामा अलैँची जोन कार्यक्रम सञ्चालनमा आएको हो । कृषि ज्ञान केन्द्र खाँदबारीका प्रमुख रामबहादुर ठाकुरका अनुसार अलैँची खेती विस्तार गर्दै कृषकले उत्पादन गरेको अलैंचीको बजार व्यवस्थापन र भण्डारण गर्ने लक्ष्यले अलैंची जोन कार्यक्रम सुरु भएको हो ।
संखुवासभा जिल्लाको कुल पाँच सय हेक्टरभन्दा बढी क्षेत्रफलमा लगाइने अलैंचीका लागि धर्मदेवी, मादी, चैनपुर, पाँचखपन, खाँदबारी नगरपालिका र सभापोखरी, चिचिला, सिलिचोङ, मकालु, भोटखोला गाउँपालिकालाई पकेट क्षेत्र मानिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन इकाई खुमलटार ललितपुरले धर्मदेवी नगरपालिकाको १ र २, मादीको १, ७, ८ र ९ चैनपुरको १, २ र ४, पाँचखपनको १ र ९ खाँदबारीको ३, ४ र ११ सभापोखरीको २, ३, ४, ५ र ६ चिचिला गाउँपालिकाको ५ वटै वडा, सिलिचोङको ५, मकालुको ५ वटै वडा भोटखोलाको ४ नम्बर गरी २९ वडामा अलैंची जोन कार्यक्रम लागु गरिने भएको ज्ञान केन्द्र खाँदबारीका प्रमुख ठाकुरले जानकारी दिए ।
यता संखुवासभासँगै भोजपुर जिल्लामा पनि अलैँची जोन कार्यक्रम सुरु भएको छ । अलैँची खेतीमा कृषकको आकर्षण बढीरहेका बेला अनुदानसँगै प्रविधिक सहयोग पनि पाइने भए पछि कार्यक्रम प्रभावकारी बनेको हो ।
भोजपुर जिल्लाका ९८ कृषक समूह तथा कृषि फार्म अलैँची जोन कार्यक्रममा आबद्ध भएको अलैँची जोन कार्यालयले जनाएको छ । विगतमा अलैँची खेतीमा लागेका कृषक समूहलाई जोनमा आबद्ध गराएर कार्यक्रम जिल्लामा कार्यक्रम सञ्चालन भएको हो ।
अलैँची जोन कार्यालय भोजपुरका अनुसार जिल्लाका नौ स्थानीय तह मध्ये छ स्थानीय तहका ३० वडामा अलैँची जोन परियोजाना सञ्चालनमा छ । परियोजनाअन्तर्गत अलैँचीको बिरुवासँगै प्राविधिक सहयोग पाएपछि कृषक उत्साहित बनेका हुन् । परियोजनाले कृषकको घरघरमै पुगेर उनीहरुका समस्या तथा माग गरिएका आयोजनाको अवलोकन गरिरहेको छ । सो कार्यक्रम सञ्चालन भएपछि अझै अलैँचीको उत्पादनमा वृद्धि हुने अलैँची जोनका निमित्त प्रमुख खिरप्रसाद राईको भनाई रहेको छ ।
भोजपुरमा करिव ६ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती हुदै आएको छ । कार्यक्रम लागु भए पछि अझै १ हजार हेक्टर क्षेत्रफलमा खेती बिस्तार गर्न सकिने अलैँची जोन कार्यालयले जनाएको छ । कार्यक्रम अन्तर्गत जिल्लामा करिव ४९ लाख बराबरको कृषक लक्षित कार्यक्रम सञ्चालन हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५