काभ्रेपाल्चोक : काभ्रेपाल्चोकको तेमाल गाउँपालिका ५ सानोगिम्दीमा एक सय ३५ घरपरिवारको बसोबास छ । गाउँको बीचमा तीनधारा एक मात्र खानेपानीको मुहान भए पनि २०७२ सालको महाभूकम्पका कारण मुहान सुके । मुहान सुकेपछि एक घण्टाको समय खर्च गरेर खोलाबाट पानी ओसार्ने गरेका स्थानीयहरुको प्रत्येक घरमा मिटर खानेपानी जोडिएपछि सहज भएको बताएका छन् ।
गाउँभन्दा एक सय बीस मिटर तल रहेको मुहानको पानी विद्युतिय लिफ्टमार्फत माथि गाउँमा तानिएपछि खानेपानीको समस्या समाधान हुनुका साथै सिँचाईमा पनि सुधार भएको स्थानीय बुद्ध लामाले बताए । विश्व बैङ्कको आर्थिक सहयोग र फण्ड बोर्डको प्राविधिक सहयोगमा निर्माण सम्पन्न भएको परियोजनाको अवलोकण गर्ने क्रममा सहयोगीदाताहरु समक्ष खुशी व्यक्त गर्दै कृष्ण कुमार तामाङले पानी ओसार्नको लागि धेरै लाग्ने समय अहिले आयमुलक काममा उपयोग गर्न पाएको बताए ।
विश्व बैंकको उच्च पदाधिकारी सम्मिलित टोलीले फण्डबोर्ड मार्फत सञ्चालित काभ्रेपाल्चोकको सानो गिम्दी निर्माण सम्पन्न लिफ्ट खानेपानी आयोजनाको अवलोकन गर्ने क्रममा स्थानीयहरुले खुशी व्यक्त गरेका हुन् ।
विश्व बैंक वाटर ग्लोवल प्राक्टिक्सका डाइरेक्टर, दक्षिण तथा पूर्वी एसिया क्षेत्रका म्यानेजर, जलस्रोत विज्ञ र फण्ड बोर्डका कार्यकारी निर्देशक लिला प्रसाद ढकाल सहितको टोलीले आज खानेपानी आयोजना र त्यस अन्तर्गत सञ्चालित कार्यक्रमहरुको अवलोकन गरेको हो ।
खानेपानी उपभोक्ताहरुसँग अन्तरक्रिया गर्दै स्टेभल एनड्यास स्कुनवर्गले विकासको नेतृत्व महिलाहरुले गरेको ठाउँमा निक्कै सवल रुपमा अघि बढेको बताए । उनले कुनै पनि योजना बन्नु मात्र ठूलो कुरा नभई त्यसको सदुपयोग कसरी हुन्छ त्यो महत्वपूर्ण हुने बताए ।
‘खानेपानीको महसुललाई समेत जसरी आयमूलक काममा प्रयोग गरिरहनुभएको छ, यसले विकासमा थप टेवा पुग्ने विश्वास गरेको छु । मलाई लाग्छ, हाम्रो सानो सहयोगले ठुलो काम भएको छ ।’ उनले भने ।
देश संघीय ढाँचामा गइ सकेकाले फण्ड बोर्ड मार्फत सञ्चालित खानेपानी आयोजनाका कामहरुलाई पनि संघीय ढाँचामा रुपान्तरण गर्नुपर्ने आवश्यकता रहेको फण्ड बोर्डका कार्यकारी निर्देशक लिला प्रसाद ढकालले बताए –‘अहिलेसम्म केन्द्रमा फण्डबोर्ड र त्यसले खानेपानी तथा सरसफाइ उपभोक्ता सँग काम गरिरहेको छ, तर अब प्रदेश सरकार तथा स्थानीय सरकारसँग पनि समन्वय नगरी नहुने देखेका छौं, अब कार्यान्वयन प्रक्रियामा स्थानीय तथा प्रदेश सरकारसँग कसरी समन्वय गर्ने भन्ने विषयमा गहन छलफल भइरहेको छ, मलाई लाग्छ, अहिलेको संरचना परिवर्तन नगरी भएको छैन ।’
ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) को आर्थिक तथा शान्ति जन आदर्श सेवा केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न खानेपानी आयोजनाबाट १२८ घरपरिवारका ९८० जना लाभान्वित भएका छन् ।
फण्ड बोर्डको ५८ लाख ८० हजार ८१३ रुपैयाँ अनुदान, १२ लाख ४६ हजार ७७९ रुपैयाँ समुदायको नगद, ११ लाख ७३ हजार ६४६ रुपैयाँ बराबरको श्रमदान र पाइपलाइन खन्नका लागि फण्डबोर्ड मार्फत उपलब्ध गराएको ५ लाख ५२ हजार ३५३ रुपैयाँ सहित ७४ लाख ९२ हजार ८५७ रुपैयाँ लागतमा आयोजना निर्माण सम्पन्न भएको हो ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५