काठमाडौं : काठमाडौंको रेष्टुरेन्टमा बफ मःमः, भेज मःमः, चिकन मःमः तथा पोर्क मःमःको परिकारका स्वाद सबैजसोले लिएकै होला । मःमःको मेनु हेर्ने बित्तिकै यस्तै प्रकारमा मेनुहरु अधिकांश मःमः रेष्टुरेन्टमा देख्न पाइन्छ । अहिले काठमाडौंको मःमः रेष्टुरेन्टमा नयाँ मेनु थपिनेवाला छ । मध्यवानेश्वरको डम्प्लिङ मःमः रेष्टुरेन्टको मेनुमा त कोदोको मःमःको परिकार आइसकेको छ । हेर्दा मैदाले बनेको जस्तो राम्रो नदेखिए पनि कोदोका स्वाद थाहा पाउने र कोदोमा पाइने भिटामिनको विषयमा जानकारहरुले खोजीखोजी खान आउने गरेको रेष्टुरेन्ट सञ्चालक मोहन मगरले बताए । सञ्चालक मोहनका अनुसार यसकाे माग धेरै छ । माग अनुसारको प्रतिक्रिया पनि राम्रै रहेको उनको भनाइ थियो ।
रामेछापका चार दाजुभाइ बेरोजगारीका कारण विभिन्न देशमा श्रम गरे । श्रम गरेको पैसा धेरैजसोले घरजग्गा खरिदमा उपयोग गर्ने गर्छन् । तर रामेछाप नगरपालिका २ का चार दाजुभाइले रेष्टुरेन्टमा लगानी गरेका छन् । रेष्टुरेन्ट सबैले खोलेका छन् । रेष्टुरेन्टका आफ्नै परिकारहरु हुन्छन् । त्यस मध्येको अलि फरक स्वाद र परिकार कोदोको मःमः भएको सञ्चालक हिरा मगरको भनाइ छ ।
विदेशमा बसेर कमाएको सीप र आम्दानी लगानी गरेर रेष्टुरेन्टमा सदुपयोग गर्नुका साथै आफ्नौ ब्रान्डकाे कोदोको मःमःको परिकार दिन थालेपछि ग्राहकहरु यसकाे स्वाद प्रति आकर्षित भइरहेका छन् ।
रेष्टुरेन्टमा कोदोको मःमःको स्वाद लिन आएकी शर्मिला सुनुवारका अनुसार आफूले कोदोको कुनै परिकार मन नपरेको भए पनि मःमःको स्वाद भने राम्रो रहेको बताइन् । उनी जस्तै धेरैको आकर्षण राम्रो रहेकले माग बढिरहेको सञ्छचालककाे भनाइ छ ।
रामेछापका चार दुजभाइ हिरा, चन्द्र, नर र मोहन मगरले मध्यवानेश्वरमा कोदोको मःमःको परिकार बनाउन थालेपछि यता रेष्टुरेन्टमा नयाँ स्वाद थपिएको छ भने रामेछापको कोदोले पनि बजार पाएको हुँदा दुईतिर फाइदा भएको मोहनले बताए । अहिले राम्रो माग रहेकले दैनिक ४/५ केजी कोदो खपत हुँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५