विराटनगर : पाँचौं संस्करणको दक्षिण एशियाली महिला फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) मा नेपालले विजयी सुरुआत गरेको छ । नेपालका प्रमुख प्रशिक्षकलाई ‘वर्थ डे’ गिफ्ट दिँदै नेपालले जितको सुरुआत गरेको हो । नेपाली टोलीका प्रमुख प्रशिक्षक हरि खड्काको आज जन्मदिन हो । मंगलबार विराटनगरमा भएको उद्घाटन खेलमा भुटानलाई ३–० गोल अन्तरले पराजित गर्दै नेपालले महत्वपूर्ण जित निकालेको हो ।
नेपालको जितमा कप्तान निरु थापा, साम्बा उपनामले परिचित सावित्रा भण्डारी र मञ्जिली कुमारी योञ्जनले गरेको गोल निर्णायक हुन पुग्यो । निरुले दोस्रो हाफको ५३ मिनेटमा, सावित्राले पहिलो हाफको १५ मिनेटमा र योन्जनले १२ मिनेटमा गोल गर्दै नेपाललाई जितको बाटो देखाएका थिए ।
एकतर्फी नेपालको पक्षमा रहेको खेलमा भुटानले त्यस्तो कुनै सुन्दर अवसर निकाल्न सकेन । भुटानमाथि खेल अवधिभर हावी रहेको नेपालले मध्यान्तरपूर्व २ गोल गरेको थियो । दोस्रो हाफमा भने निरन्तर आक्रामक खेल खेलेको नेपालले पूर्वाद्र्धको १२ मिनेटमा पहिलो गोल गर्यो । डिबक्सभित्रबाट मञ्जिलीले प्रहार गरेको बलले जाली चुमेपछि नेपालले अग्रता लिएको थियो ।
एक गोलले अग्रता लिएको ३ मिनेट बित्न नपाउँदै अंग्रपक्तिबाट खेल्ने नेपाली खेलाडी सावित्रा भण्डारीले अर्को गोल गरिन् । डिबक्सभित्र रहेको बललाई सावित्राले गरेको सशक्त प्रहार भुटानी गोलरक्षक संगीता मोगरले पन्च गर्ने प्रयास गरे पनि त्यो प्रयास सफल हुन सकेन । सावित्राले करियरको २३औँ गोल गर्दै नेपाललाई २–० ले अग्रता दिलाइन् ।
२ गोलले पछि रहेको भुटानले मध्यान्तरअघि गोल फर्काउने प्रयास गरे पनि नेपाली डिफेन्डरको अगाडि उनीहरुको केही जोर चलेन । पहिलो हाफमा निक्कै हावी भएको नेपालले दोस्रो हाफमा भने त्यति सशक्त खेल्न सकेन । यद्यपि दोस्रो हाफको ५३औ मिनेटमा कप्तान निरु थापाले नेपालका लागि तेस्रो गोल गरिन् । बाँया कर्नरबाट आएको बललाई सावित्राले गरेको पासमा टच गर्दै निरुले गोल गर्न सफल भइन् ।
खेलको ६७औं मिनेटमा नेपालले गोल गर्ने अर्को अवसर गुमायो । डिबक्स बाहिरको बललाई सावित्रा भण्डारीले गरेको सशक्त प्रहारलाई भुटानकी गोलरक्षक संगीता मोगरले बचाउँदा भुटानले अर्को संकट टारेको थियो ।
यो संस्करणको प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशको महिला फुटबल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दै छन् । चैत ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत समूह ए मा नेपालसहित बंगलादेश र भुटान छन् । स्थानीय शहीद रंगशालामा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रतियोगिताको उद्घाटन गरेका थिए । बुधबारको खेल भारत र माल्दिभ्सबीच हुने छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५