साल्पासिलिछो गाउँपालिकाको कुलुङमा रहेको वीरेन्द्र माविमा जडान भएको ई–हजिरी ।
भोजपुर : दुर्गम पहाडी जिल्ला भोजपुरका सरकारी विद्यालयहरूमा पनि स्थानीय तहले ई–हाजिरी जडान अभियान सुरु गरेका छन् ।
सरकारी विद्यालयहरूमा पनि शैक्षिक गुणस्तर कायम गर्न नयाँ प्रविधिमैत्री बनाउन ई–हजिरी अभियान सुरु गरिएको स्थानीय तहले जनाएका छन् । अहिले भोजपुर नगरपालिका र पौवादुम्मा गाउँपालिकाले ई–हाजिरी वितरण र जडान अभियानलाई तीव्र बनाएका छन् ।
भोजपुर नगरपालिका क्षेत्रमा रहेका १२ वटा वडामा रहेका सामुदायिक विद्यालयहरूमा ई–हजिरी अभियान सुरु गरिएको भोजपुर नगरपालिका मेयर कैलाशकुमार आले बताउँछन् । उनका अनुसार पहिलो चरणमा मावि चलेका विद्यालयहरूमा भने अनिवार्य रूपमा ई–हजिरी जडान हुने छन् । हाल भोजपुर नगरपालिका भित्र ८ वटा मावि, ९ वटा आधारभुत र २७ वटा प्राथमिक विद्यालय गरी जम्मा ४४ वटा सामुदायिक र १० वटा संस्थागत विद्यालय छन् ।
यता सदरमुकाम पूर्वमा रहेको पौवादुम्मा गाउँपालिकाले पनि आफ्नो क्षेत्रमा रहेका विद्यालयहरूमा ई–हजिरी वितरण गरिसकेको छ । गाउँपालिका अध्यक्ष किरण राई गाउँपालिकाबाट विद्यालयहरूलाई ई–हजिरी, कम्प्युटर, सोलार सेट वितरण गरिसकिएकाले अब जडान अभियानलाई पनि तीव्र बनाइने बताउँछन् ।
पौवादुम्मा गाउँपालिकाकाले त्यस क्षेत्रमा रहेका २८ वटा विद्यालयलाई कम्प्युटर, इन्भर्टर सहितको सोलार सेट र ई–हजिरी वितरण गरिसकेको छ । गाउँपालिकाले विद्युत् सेवा पुग्न नसकेको क्षेत्रका ११ वटा विद्यालयलाई गाउँपालिकाले इन्भर्टरसहित एक सय वाटको सोलारका साथै एक÷एक थान कम्प्यूटर र ई–हजिरी दिइसकेको छ ।
यस्तै गाउँपालिकाले १० वटा विद्यालयलाई कम्प्युटर र ई–हजिरी वितरण गरिएको र पहिला नै कम्प्युटर जडान भएका सात विद्यालयलाई ई–हजिरी मात्र वितरण गरेको जनाएको छ । गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार चार लाख ५० हजार रूपैयाँको इन्भर्टर सहितको सोलार, ११ लाख ५० हजारको कम्प्युटर र २८ वटा ई–हजिरीको चार लाख गरी २० लाख रूपैयाँ बराबरको सामग्री गाउँपालिका क्षेत्रका विद्यालयहरूलाई वितरण गरिएको हो ।
जिल्लाको उत्तरमा रहेको साल्पासिलिछो गाउँपालिकामा रहेका विद्यालयहरूमा पनि क्रमिक रूपमा ई–हजिरी जडान हुन थालेको छ । गाउँपालिकाको कुलुङमा रहेको वीरेन्द्र माविमा भने ई–हाजिरी जडान गरिसकिएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५