काठमाडौंबाट करिब १२०० किलोमिटर टाढा छ, बझाङ जिल्ला । कुुनै समय मानवतावादी राजा जयपृृथ्वीबहादुर सिंहको राज्य भनेर चिनिएको बझाङ यतिखेर फरक पहिचानको खोजीमा छ । खप्तड, सुर्मासरोबर, साइपाल हिमाल, जेठी–बहुुरानी, राक्स्या हिमाल आदिले घेरिएको यस जिल्लामा विशिष्ट सांस्कृतिक पहिचान दिने मेलाहरू लाग्ने गर्छन् । हरेक मेलाको छुट्टै मौलिकता छ, बिल्कुलै फरक तरिकाले मेला मनाइन्छन् । त्यसैमध्येको प्रमुुख मेला हो–बान्नीकी चैतली ।
काठमाडौंको नयाँ बसपार्कबाट दुुई दिनको बस यात्रा गरेपछि बझाङको सदरमुकाम चैनपुर पुुग्न सकिन्छ । बझाङ पुग्ने अर्काे विकल्प हो हवाइ यातायात । काठमाडौंबाट धनगढीसम्म हवाइयात्रा र त्यहाँबाट बस या जीप यात्रा गरेपछि एक दिनमै बझाङ पुुग्न सकिन्छ । सदरमुकाम चैनपुरबाट ११ किलोमिटर पश्चिमतिर दुुई घण्टा जीप यात्रा गरेपछि छबिस पाथिभेरा गाउँपालिकाको बान्नीचौर पुुगिन्छ । बान्नी चैतली मेला लाग्ने ठाउँ यही हो ।
चैतली मेला कसरी सुरुआत भयो भन्ने विषयमा थुपै्र भनाइहरू छन् । परापूर्वकालमा महिसासुर दानव र मस्टा देवताको घमसान युद्ध भएको थियो । युद्धमा दानवले देवतालाई पासोमा पारेको र मस्टालाई दानवको पासोबाट मुक्त गर्नका लागि सुर्मादेवी प्रकट भएर महिषासुरको बध गरेको खुसियालीमा बान्नीकी चैतली मेला मनाइँदै आएको जनविश्वास छ । यस क्षेत्रको सबैभन्दा ठूलो मेला बान्नी चैतलीका तीन वटा प्रमुख आर्कषण छन् । काँकरे अँँौसी, बासी चैतली र चैतली । चैते औँसी अर्थात घोडे जात्राको दिनमा काँकरे औँसीे मेला लाग्दछ । यो मेला तिथि अनुसार मनाइन्छ ।
यस वर्ष चैते औँसी अर्थात् घोडेजात्रा चैत २२ मा परेको छ । औसीको राति काँकर अर्थात् काठको लिङगो काट्ने हुनाले काँकर औसी भन्ने गरेको बुझिन्छ । यस दिन यहाँका तीनवटा गाउँका मानिसहरूले अलग अलग तीनवटा काँकर काट्ने चलन छ । बोहरागाउँ, धामीगाउँ र मुम्लाका स्थानीयले जंगलमा गएर सिंगै धुपी सल्लाको रूखलाई काँकर अर्थात लिंगोको रूपमा भित्र्याउने गरिन्छ ।
औँसीको बिहान सबभन्दा पहिला बोहराको काँकर काट्न जाने मानिसहरू ब्यासीबाट बान्नीचौरको देविका सानामा नगरा बजाउँछन् । त्यसपछि बान्नीकोट बोहराका घर बाटगाउँको नायकले साइत सार्छ । साइत सार्दा बन्दुक पड्काउने चलन छ । काँकर काट्न जाने प्रत्येक लोग्ने मान्छेसँग बन्चरो अनिवार्य हुन्छ । साथमा बलिका लागि बोका पनि लगिन्छ । सबै लोग्ने मानिसहरू लेकतिर जान्छन्, बोल्लेचौरसम्म लोग्ने मान्छेको खानेकुरा र सातुसामलको कुम्लो बोकेर आइमाईले पु¥याउन जाने चलन छ । लोग्नेले बन्चरो र बोका बोक्छन् । धामीगाँउको समूह बोल्लेचौर पुगेपछि मुम्लाको काँकर लिन जाने मण्डिका दमाईहरू मुम्लामा पुग्छन् ।
गाँउमा खानपिन गरेपछि मुखियाका घरबाट अक्षता दिन्छन् र दमाहा र नगरा बजाउदै लेकतिर जान्छन् । काँकर धुपी सल्लाको मात्र काटिन्छ । कसैले अन्य प्रयोजनका लागि पहिलै बच्चरोको घाउ लगाएको भए पनि त्यो रूख काटिन्न । काँकरको टुप्पो समेत भाँचिएको हुनुहुँदैन । औँसीको दिन लेकको अनकन्टार ठाउँमा बास बस्ने गरिन्छ । डरलाग्दो भूगोलबाट काँकर बोकेर ल्याएको दृष्य निकै नै जोखिमपूर्ण र रमाइलो पनि देखिन्छ ।
काँकर बोक्दा एक जनाले भट्याउने र बाँकी बोक्नेले हम्भाई भनेर एकैसाथ बल लगाउँछन् । तीन वटा काँकरमा बाँडिएका सबै मानिस तथा बाजा बोहराको काँकर भएको ठाँउमा आउँदा चैतलीकै अनुभव गराउँछ ।
यो रमाइलोका साथ काँकर देउवाज हुँदै तलकोट पुग्छ । काँकर औसीको बाह्रौँ दिन अर्थात् द्वादशी तिथिका दिनमा वासी चैतली मनाइन्छ । चैतली हुनुभन्दा एक दिनअघि मुग्ला गाउँमा वासी चैतली हुन्छ । यो दिन गाउँमा मीठोमसिनो परिकारहरू पकाएर परिवार सँग बसेर खानपिन गर्ने र रमाइलो गर्ने गरिन्छ । आफन्त इष्टमित्रहरूलाई बोलाएर रमाइलो गर्ने यस दिन गाउँका सबै घरबाट बाबियो ल्याएर काँकर तान्नका लागि डोरी बाट्ने गरिन्छ । वसन्त ऋतुको आगमनले वातावरण उल्लासमय भएको समयमा सबैले आ–आफ्नो घर कमेरो र रातो माटो लगाएर पोत्ने काम गर्दछन् ।
चैतली मेलाको यस क्षेत्रमा यति धेरै महत्व छ कि घरमा मान्छेको मृत्यु भयो भने पनि मेला सकाएपछि मात्र लासलाई घर बाहिर निकालिन्छ । बासी चैतलीको भोली पल्ट चैतली सुरु हुन्छ । यो वर्ष वास्तविक चैतली वैशाख ४ गते परेको छ । सबैभन्दा पहिला मुम्ला गाउँका स्थानीयले काँकरे औसीमा काटेको काँकर मेला स्थलतर्फ लैजाने गर्दछन् । काँकर बोक्नका लागि परम्परागत पहिरनसहित केटाकेटीदेखि वृद्धसमेत हातमा एक प्रकारको लठ्ठी (घोचा) बोकेर एकैठाँउमा जम्मा हुने गर्दछन् । पुरुषहरूले डोरीको सहाराले खेतमा काँकर हिँडाउँदै गर्दा महिलाहरूले विभिन्न खालका मंगलगीत गाउने चलन छ ।
यसै खेतमा सुर्मादेवीले त्रिशूलले दानवको छाती चिरेको सम्झनामा काँकर यसरी हिँडाउँने गरिएको जनविश्वास छ । अजंगको रूखलाई यसरी हिँडाएको दृश्य हेर्नका लागि बझाङ मात्र होइन अन्य विभिन्न जिल्ला र विदेशबाट समेत यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । बान्नीचौरमा काँकरलाई हत्केलामा राखेर बोकेको अनौठो दृश्यले स्थानीय माहौल नै फरक पारिदिएको हुन्छ । बान्नी चौरमा छालाको भकुन्डो बनाएर खेलेको दृश्य मेलाको अर्काे आकर्षण हो । तल्लो छबिस र मल्लो छबिस दुइटा गाउँका युवाहरूले चौरको बीचमा भकुण्डो खोसाखोस गर्छन् । सुर्मादेवीले महिषासुरलाई मारिसकेपछि टाउकाको भकुन्डो खेलेको सम्झनामा यस्तो गर्ने गरिएको स्थानीयको भनाइ छ । बान्नीचौरमा भकुण्डो खेलेपछि पसल थाप्ने, देउडा खेल खेल्ने गरिन्छ । रातभर चौरमा जात्रा हुन्छ, पुरुष र महिलाका संयुक्त देउडा खेल खेलिन्छ ।
तस्बिरहरुः मिशनसाइपाल (www.missionsaipal.com)/रारा फिल्मस् अर्काइभबाट ।
हेरौं बान्नीकी चैतली मेलाको देउडा भिडियोः
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५