भनिन्छ, नेता भएपछि ताली र गाली दुवै खान तयार हुनुपर्छ । असल नेता भेट्न निक्कै गाह्रै पर्छ, होइन भने नेतृत्वमा पुगेकाहरूको फन्डा केही न केही बाहिरिएकै हुन्छ । तिनैमध्येमा पर्छन्, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देखि पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्लू बुससम्म । नेतामाथि जुत्ता प्रहार गर्नु राजनीतिक एजेन्डाको विरोध मात्रै नभएर मिडियालाई आफूतिर आकर्षित पार्ने एउटा फन्डाका रूपमा पनि लिने गरिन्छ ।
यस्ता घटना सामान्यतया सुनियोजित हुन्छन् । तर, त्यति भनेर मात्रै धर पाइने अवस्था छैन । किनभने यस्ता चड्कनकै उग्ररूप हो, आत्मघाती बम । जब नेतृत्व वा सरकारले जनताको अपेक्षा अनुसारको काम गर्दैन, तब आक्रोशित सर्वसाधारण जनता यसरी जाइलाग्ने गर्छन् । र, यो स्वभाविक पनि हो । यसको पछिल्लो ज्वलन्त उदाहारण हुन्, दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल ।
एकताका निकै चर्चित नेताको सूचिमा रहेका केजरीवाल मात्रै नभएर भारतमा अर्को जुत्ताकाण्ड बाहिर आएको छ । तर, यसपटक कुनै सर्वसाधारणले नभएर एउटा नेताले अर्को नेतामाथि जुत्ता प्रहार गरेको घटना बाहिर आएको हो । दिल्लीमा यसपटक एक सांसद्ले विधायकमाथि जुत्ता प्रहार गरे, त्यो पनि आफ्नै पार्टीका विधायकमाथि । यस्त घटनाहरू विदेशमा थुप्रै होलान् ।
नेपालकै सन्दर्भको कुरा गर्ने हो भने, रामचन्द्र पौडेलमाथि एमालेका तत्कालीन सांसद् गोल्छे सार्कीको थप्पड, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रचण्डमाथि प्रहार गरिएको चड्कन पनि बिर्सिनै नसकिने घटना हुन् । राणाकालमा एकतर्फी पेलाइमा परेका जनताले त्यसलाई बिर्सना स्वरूप नेताहरूमाथि जाइलाग्न थालेको घटनाक्रमलाई वास्तवमै सामान्य रूपमा लिनु अवश्य हँुदैन ।
किनभने विदेशमा नेताबाट आजित जनता आत्मघाती कमद चाल्न बाध्य भइसकेका छन् । काठमाडौंको भृकुटीमण्डपमा आयोजित चियापान समारोहमा प्रचण्डलाई पदम कुँवरले थप्पड प्रहार गरे । यस्तै एमालेका नेता झलनाथ खनाललाई सुनसरीमा देवीप्रसाद रेग्मीले चट्काए । २०६४ सालको चुनावमा काठमाडौं–२ मा एमाले नेता माधवकुमार नेपाललाई हराएका झक्कुप्रसाद सुवेदी पनि झापड खाने नेताको सूचीमा पर्छन् । यस्तै, २०७४ मा भएको निर्वाचन प्रचारका क्रममा कांग्रेस नेता रामशरण महतमाथि बोतल प्रहार भएको थियो ।
यी केही उदाहरण मात्रै हुन् । यी घटनालाई नेताप्रतिको आक्रोशका रूपमा लिन सकिन्छ । तर संसारमा नेताहरूमाथि थप्पड र जुत्ता प्रहार हुने घटना नयाँ भने होइनन् । हालै मात्र दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालमाथि जुत्ता प्रहार भएको छ । जुत्ता प्रहारको सबैभन्दा चर्चित घटना सन् २००८ मा भएको थियो । त्यतिबेला एक पत्रकारले अमेरिकाका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसमाथि जुत्ता प्रहार गरेका थिए ।
बुसमाथि प्रहार भएको सो जुत्ता तत्कालीन इराकी प्रधानमन्त्री नुरी अल मल्लिकीले रोकेका थिए । बुसमाथि दुई वटा जुत्ता प्रहार गर्ने ती पत्रकारलाई प्रहरीले गिरफ्तार गरेको थियो । सन् २०१४ मा अमेरिकाका पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनमाथि जुत्ता प्रहार भएको थियो । नेभाडाको लस भेगासमा जुत्ता प्रहार हुँदा उनी मुस्किलले छलिएकी थिइन् ।
यसरी जुत्ता प्रहारको सामना गर्ने नेताहरूमा चीनका पूर्व प्रधानमन्त्री बेन जियाबाओदेखि इरानी पूर्वराष्ट्रपति मोहम्मद अहमदिनिजादसम्मले जुत्ता प्रहारको सामना गरेका छन् । भारतमा पनि जुत्ता प्रहार गर्ने घटना भइरहन्छन् । भारतमा सन् २००९ मा पत्रकार जरनैल सिंहले यूपीए सरकारका तत्कालीन गृहमन्त्री पी चिदम्बरममाथि जुत्ता प्रहार गरेका थिए । उनले चिदम्बरममाथि सन् १९८४ मा भएको शिख दंगालाई लिएर प्रश्न गरेका थिए ।
त्यसैबेला भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवाणीमाथि उनकै पार्टीका कार्यकर्ता पावस अग्रवालले चप्पल हानेका थिए । त्यसपछि भारतका तत्कालीन प्रधानमन्त्री डा. मनमोहन सिंहमाथि अहमदाबादको एक चुनावी ¥यालीमा जुत्ता प्रहार भएको थियो । त्यसपछि सिंहले प्रहरीलाई जुत्ता प्रहार गर्नेमाथि कार्बाही नगर्न आग्रह गरेका थिए । १५ अगस्ट २००९ को स्वतन्त्रता दिवसमा जम्मू काश्मिरका तत्कालीन मुख्यमन्त्री उमर अब्दुल्लामाथि जुत्ता प्रहार भएको थियो । २६ अप्रिल, २०११ मा कमनवेल्थ खेल आयोजना समितिका अध्यक्ष सुरेश कलमाडीमाथि अदालत जाने क्रममा चप्पल प्रहार भयो ।
अक्टोबर २०११ मा लखनउमा आरटीआई कार्यकर्ताले आम आदमी पार्टीका नेता अरविन्द केजरीवालमाथि जुत्ता प्रहार गरेका थिए । २३ जनवरी २०१२ मा देहरादूनमा एक चुनावी सभामा कांग्रेसका अध्यक्ष राहुल गान्धीमाथि जुत्ता प्रहारको घटना भएको थियो । जनवरी २०१५ मा बिहारका तत्कालीन मुख्यमन्त्री जितेन माझी र सेप्टेम्बर २०१६ मा पञ्जाब विधानसभामा विधायकले प्रदर्शनका क्रममा पञ्जाबका तत्कालीन क्याबिनेटमन्त्री विक्रमसिंह मजिठियामाथि जुत्ता प्रहार भएको थियो ।
जनवरी २०१७ मा पञ्जाबका तत्कालीन मुख्यमन्त्री प्रकाशसिंह बादलमाथि उनकै चुनाव क्षेत्रमा जुत्ता प्रहार भएको थियो । फेब्रुअरी २००९ मा लन्डनमा तत्कालीन चिनियाँ प्रधानमन्त्री बेन जियाबाओमाथि एक जर्मन नागरिकले जुत्ता प्रहार गरेका थिए । डब्लिनमा सेप्टेम्बर २००९ मा बेलायती प्रधानमन्त्री टोनी ब्लेयरमाथि जुत्ता र अण्डा प्रहार भएको थियो । यसका साथै चीन, रुस, ताइवान, क्यानडासहित संसारका धेरै देशका नेताले यस्ता जुत्ता प्रहारको घटना बेहोरेका छन् । अगस्ट २००९ मा पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीमाथि बेलायतको बर्मिङघममा जुत्ता प्रहार भएको थियो ।
फेब्रुअरी २०११ मा पाकिस्तानका पूर्वराष्ट्रपति परबेज मुसर्रफ लन्डनमा एक सभालाई सम्बोधन गरिरहेका बेला एक व्यक्तिले जुत्ता हानेका थिए । उनीहरूले अमेरिकामा पाकिस्तानी नागरिकको गिरफ्तारीको विरोध गरिरहेका थिए । ११ मार्च २०१७ मा लाहौरमा पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफमाथि जुत्ता प्रहार गरे । त्यसको एक वर्षपछि तहरिक–ए–इन्साफ पार्टीका नेता इमरान खानमाथि जुत्ता हानिएको थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५