काठमाडाै : नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिके राउतसँग सरकारले सहमति गरेपछि भएको विवादलाई समस्याका रुपमा लिएको बताएका छन् । साथै विवादलाई छलफलका माध्यमबाट समाधान गरिने पनि उनले बताए ।
विवाद समाधान गर्ने भने पनि सिकेका गतिविधिलाई के गर्ने भन्नेबारे चाँहि उनले केही बोलेनन् । आफ्नै पार्टीका नेताहरुद्वारा निरन्तर विरोध भएपछि उनले सार्वजनिक रुपमा विरोध गर्नुपर्ने आवश्यकता नभएको भन्दै विरोध गर्नेप्रति असन्तुष्टि जनाए ।
हिजो पोखरा पुगेर अध्यक्ष दाहालले सिके राउतको बचाउ गर्दै अभिव्यक्ति दिएका थिए । विखण्डनवादी गतिविधि गरिरहेका राउतसँग भएका सहमतिबारे बजारमा चर्चा भए जस्तो ‘आत्तिइहाल्न नपर्ने’ अभिव्यक्ति दिएका दाहालले पूर्वको १ नम्बर प्रदेश पुगेर ‘सो समस्या समाधान गरिने छ’ भन्दै समस्या निम्तिएको स्वीकार गरेका हुन् । पोखरामा उनले भनेका थिए, ‘संविधानको मर्म र भावनाअनुसार नै मूलधारको राजनीतिमा आउने स्पिरिटमा राउतसँग सहमति भएको हो । यसमा कसैले त्यति धेरै उछाल्नु जरुरी छैन ।’
प्रदेश १ को अस्थायी राजधानी विराटनगर पुगेर अध्यक्ष दाहालले सो समस्या समाधानका लागि आफू कसरत गरिरहेको अभिव्यक्ति दिएका हुन् । विमानस्थलमा भएको संक्षिप्त कुराकानीमा पार्टीभित्र छलफल गरेर निकास निकाल्ने प्रतिबद्धता उनले
सिके राउत र सरकारबीच भएको ११ बुँदे सहमतिबारे पार्टी पंक्तिबाटै विरोध भएपछि विवाद भएको विषयमा छलफल गरेरै समाधान निकालिने भन्दै उनले भने, ‘साथीहरूले बाहिर धेरै नबोल्दा नै राम्रो हुन्थ्यो भन्ने मलाई लाग्छ ।’
नेकपाका नेता भीम रावलले यो विषयमा घोर आपत्ति जनाउँदै सरकारको कदमको चर्को आलोचना गरिरहेका छन् । उनी सँगसँगै नेता माधवकुमार नेपालले पनि सार्वजनिक रूपमै विरोध गरिरहेका छन् ।
सहमति विपरीत गएर गतिविधि गरे राउतलाई के गर्ने भन्ने निर्णय गर्ने अधिकार सरकारसँग सुरक्षित भएकाले आत्तिनु नपर्ने उनको भनाइ थियो ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५