विराटनगर । महिला साफ च्याम्पियनसिप आजदेखि विराटनगरमा सुरु हुँदैछ । पहिलो पटक मोफसलमा हुन लागेको ठूलो प्रतियोगिता महिला साफ च्याम्पियनसिपको उद्घाटन खेलमा मंगलबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।
यो प्रतियोगितामा नेपाल सबैभन्दा बलियो टोलीका रुपमा समेत रहेकाले मंगलबारको खेलमा जित निकाल्दै सुखद सुरुवात गर्ने अपेक्षा गरिएको छ ।
भारतमा भएको चौथो साफ च्याम्पियनसिपमा सर्वाधिक गोलकर्ता बनेकी नेपालकी सावित्री भण्डारी यसपटक पनि टोलीकी मुख्य खेलाडीका रुपमा रहेकी छन् ।
विराटनगरको सहिद रंगशालामा दिउँसो ३ बजे सुरु हुने खेलमा नेपाल निश्चित जितका लागि मैदान उत्रिनेछ । प्रतियोगितामा बलियो टोली हुनका बाबजुद नेपालले यो प्रतियोगिता जिन्त सकेको छैन ।
नेपालले आफ्नो समूह चरणको दोस्रो खेल भने मार्च १६ तारिखमा बंगलादेशसँग खेल्दैछ । बंगलादेश पनि बलियो टोली हो ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५