भोजपुर : ‘खेलकुदमार्फत् पर्यटन पहिचान, प्रगति र गरिमा : समृद्धि र एकताका लागि फुटबल चैनपुर नगरीमा’ मूल नाराका साथ पूर्वी पहाडी जिल्ला संखुवासभाको चैनपुर नगरपालिकामा चैत २३ गतेबाट सञ्चालन हुने प्रदेश नम्बर १ स्तरीय दोस्रो चैनपुर मेयर गोल्डकप फुटबल प्रतियोगिताको तयारीका लागि चौध वटा उपसमिति गठन गरिएको छ ।
प्रदेश नम्बर १ मा रहेका १४ वटै जिल्ला भित्रका नगरपालिकाहरूलाई समावेश गरेर सञ्चालन हुन लागि रहेको प्रतियोगिताका लागि सोमवार १४ वटा उपसमिति बनाइएको हो । प्रचारप्रसार उपसमितिको संयोजकमा चैनपुर नगरपालिका ४ का वडाध्यक्ष धनबहादुर तामाङ, मिडिया संयोजन उपसमितिको संयोजकमा राष्ट्रिय समाचार समितिका संखुवासभा प्रतिनिधि पदमबहादुर अधिकारी, मेडल, प्रमाणपत्र खेलकुद सामग्री तथा खेल प्राविधिक व्यवस्थापन उपसमितिको संयोजकमा मुकुन्द श्रेष्ठ, अतिथि सत्कार उपसमिति संयोजकमा चैनपुर नगरपालिकाका उपमेयर मुना श्रेष्ठ, आवास तथा खाद्य व्यवस्थापन उपसमिति संयोजकमा चैनपुर नगरपालिका वडा नं. ३ का वडाध्यक्ष बलबहादुर अधिकारीलाई जिम्मा दिइएको छ ।
मञ्च व्यवस्थापन उपसमितिमा दिनेश श्रेष्ठ, उद्घाटन कार्यक्रम तथा मार्चपास उपसमिति संयोजकमा चैनपुर नपा ५ का वडाध्यक्ष कालीबहादुर लिम्वू, यातायात व्यवस्थापन उपसमिति संयोजकमा आशिष शाक्य, खेल मैदान व्यवस्थापन उपसमिति संयोजकमा फूर्वा सेर्पा, प्राथमिक स्वास्थ्य उपचार उपसमिति संयोजकमा प्रास्वा चैनपुरका मेडिकल अधिकृत रामशरण श्रेष्ठ यसैगरी ट्राफिक तथा शान्तिसुरक्षा व्यवस्थापन उपसमिति संयोजकमा इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर मिङ्मा सेर्पा लाई जिम्मेवारी दिईएको आयोजक समितिका सदस्य एवम् चैनपुर नगरपालिकाका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए ।
मूल आयोजक समितिको संयोजक तथा मेयर भरतकुमार खत्रीको अध्यक्षतामा राजनीतिक दल एवम् विभागीय उपसमितिका संयोजकहरूसमेतको प्रतिनिधित्व गराउँदै ९ सदस्यीय सचिवालयसमेत गठन
गरेको छ । प्रतियोगिताको उद्घाटन कार्यक्रममा प्रमुख अतिथि आमन्त्रण गर्ने जिम्मेवारी कार्यक्रमका संयोजक मेयर खत्रीलाई नै दिने निर्णय गरिएको उपमेयर तथा मूल आयोजक समितिका समितिका सहसंयोजक मुना श्रेष्ठले जानकारी दिइन ।
प्रतियोगितामा प्रथम हुने टिमलाई ५ लाख ५५ हजार ५ सय ५५, द्वितीय हुने टिमलाई ३ लाख ३३ हजार ३ सय ३३ र तृतीय हुने टिमलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २८, २०७५