विराटनगर : पाँचौं संस्करणको दक्षिण एसियाली महिला फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) का खेलहरू मंगलबार विराटनगरमा सुरु हुँदै छन् । स्थानीय शहीद रंगशालामा नेकपा अध्यक्ष पुष्पकमल दाहालले उद्घाटन गर्ने खेलमा आयोजक नेपालले भुटानको सामना गर्दै छ ।
सधैँजसो काठमाडाँैमा मात्र अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता हुँदै आएका थिए । तर पाँचाँै संस्करणको साफ महिला फुटबल प्रतियोगिता आयोजना गर्न विराटनगर महानगरपालिकाले तत्परता देखाएपछि यो सम्भव भएको हो । यो प्रतियोगिताको आयोजक अखिल नेपाल फुटबल संघ (एन्फा) हो भने सहआयोजक विराटनगर महानगरपालिका हो ।
प्रतियोगितामा आयोजक नेपालसहित भारत, भुटान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका महिला फुटबल टोली प्रतिस्पर्धाका लागि विराटनगर आइपुगेका छन् । पाकिस्तानले भने अन्तिम समयमा प्रतियोगितामा सहभागी नहुने जनाएको छ । फागुन २८ देखि चैत ८ गतेसम्म सञ्चालन हुने प्रतियोगिता अन्तर्गत समूह ‘ए’मा नेपालसहित बंगलादेश र भुटान छन् । समूह ‘बी’मा भारतसहित श्रीलंका र माल्दिभ्स छन् ।
साफ राष्ट्रमध्ये नेपाल र भारतलाई प्रतिस्पर्धाको मुख्य दाबेदार मानिएको छ । आफूभन्दा शक्तिशाली भारतलाई तीन साताअघि उसकै भूमिमा पराजित गरेको नेपाली टोली उच्च मनोबल सहित घरेलु मैदानमा उत्रिँदैै छ ।
पानीको बोतल र सिक्का प्रतिबन्ध
एन्फाका प्रवक्ता तथा साफ महिला च्याम्पियनसिपका प्रचारप्रसार संयोजक किरण राईका अनुसार फुटबल प्रतियोगिता हेर्न आउने दर्शकलाई पानीको बोतल र सिक्का मैदानमा लैजान प्रतिबन्ध लगाइएको छ ।
एन्फाले सुरक्षाको कारण देखाउँदै पानीको बोतल र सिक्का मैदानमा लैजान प्रतिबन्ध लगाएको हो । खेलको दौरानमा हुन सक्ने सम्भावित उच्छृंखल गतिविधि नियन्त्रणका लागि सिक्का र पानीका बोतल मैदान फाल्न सक्ने हुनाले प्रतिबन्ध लगाइएको हो । यद्यपि दर्र्शकका लागि पिउने पानीको व्यवस्थापन मैदानमा नै गरिने भएको छ ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५