भोजपुर : पूर्वी पहाडी जिल्ला भोजपुरका दुई स्थानीय तहका चार वडालाई चिराइतो पकेट क्षेत्र घोषणा गरिने भएको छ ।
डिभिजन वन कार्यालयका अनुसार जडिबुटी खेतीका लागि राम्रो मानिएका पश्चिमी भोजपुरका टेम्केमैयुङ–१ तिम्मा, सोही गाउँपालिकाको ५ नम्बर वडा खावा र भोजपुर नगरपालिकाको वडा नम्बर ३ गुप्तेश्वर र वडा नम्बर ४ सिद्धेश्वरलाई चिराइतोको पकेट क्षेत्र बनाइने भएको हो ।
डिभिजन वन कार्यालय भोजपुरका वन अधिकृत हेमन्तप्रसाद साहले यस वर्ष चिराइतो, सतुवा, तेजपत्ता, लौठसल्ला, खिरौला, टिम्मुर लगायत जडिबुटीमा बढी लगानी गर्ने योजना बनाएर काम थालिएको बताए । स्थानीय तहमा रहेका सामुदायिक, कबुलियती, साझेदारी वनलाई लक्षित गरेर खेती गर्न लागिएको वन अधिकृत साहको भनाइ छ ।
जिल्ला जडिबुटी फोकल समितिको निर्णय अनुसार जिल्लाको दक्षिणमा रहेको आमचोक गाउँपालिका र हतुवागढी गाउँपालिका क्षेत्रमा टिम्मुर खेतीका लागि पकेट क्षेत्र बनाइएको छ । डिभिजन वन कार्यालयका अनुसार यस वर्ष भोजपुरबाट ५७ हजार किलो चिराइतो निकासी भएको छ । सतुवा ३५ सय केजी, अर्घेली १० हजार केजी निकासी भएको डिभिजन वन कार्यालयको तथ्याङ्कले देखाएको छ ।
मूल्यमा उतारचढाव आए पनि जिल्लामा यसको खेतीमा भने वृद्धि नै हँुदै गएको डिभिजन वन कार्यालयले जनाएको छ । कार्यालयले जडिबुटीको बिरुवा उत्पादन, भण्डारण र बजारीकरणका अनुदान सहयोग जनाएको छ । कृषकको माग र आवश्यकताका आधारमा अनुदान दिन लागिएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५