काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमत संग्रहबारे सहमतिमा उल्लेख नभएको र गृहमन्त्रीले संसद्मा पनि स्पष्ट जवाफ दिइसकेकाले आशंका गर्नुनपर्ने बताएका छन् ।
गण्डकी प्रदेशको पोखरामा सञ्चारकर्मीहरुसँग उनले यस्तो बताएका हुन् । विखण्डनवादी गतिविधि गरिरहेका राउतसँग भएका सहमतिबारे बजारमा चर्चा भए जस्तो ‘आत्तिइहाल्न नपर्ने’ उनको आशय थियो । उनले भने, ‘संविधानको मर्म र भावनाअनुसार नै मूलधारको राजनीतिमा आउने स्पिरिटमा राउतसँग सहमति भएको हो । यसमा कसैले त्यति धेरै उछाल्नु जरुरी छैन ।’
जेलबाट छुट्नेबित्तिकै सहमति गरेर तराई गएकाले आफ्नो समूहका कार्यकर्तासँग उनले मूलधारको राजनीतिमा जानेबारे ब्रिफिङ गर्न नभ्याएकाले जनकपुरमा भएका कतिपय क्रियाकलाप सशंकित देखिएको उनको धारणा थियो । राउतले आफ्नो समूहलाई सरकारसँगको सहमतिबारे ब्रिफिङ गरेपछि त्यो समस्या आफैँ हल भएर जाने उनले बताए ।
यदि सहमति विपरीत गएर गतिविधि गरे राउतलाई नै अप्ठ्यारो पर्ने भन्दै उनले भने, ‘सहमति तोडेर गतिविधि गर्न थाले त्यसपछि के गर्ने भन्ने निर्णय गर्ने अधिकार सुरक्षित छ, आत्तिनु पर्दैन ।’
त्यस्तै सिके राउतसँगको सहमतिसँगै सम्बन्धित अर्को विषयमा भने दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीप्रति असन्तुष्ट देखिए । सहमति हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री ओलीले राउत पनि प्रचण्ड जत्तिकै असाधारण र क्षमतावान् व्यक्ति भन्दै तुलना गरेको विषयमा दाहालले आपत्ति प्रकट गरे ।
ओलीले राउतलाई आफूसँग तुलना ‘नगरेको भए’ हुन्थ्यो भने । सबै तुलना लंगडा हुने भन्दै दाहालले राउतसँग योजना अनुसार वा सोचेर तुलना नगरेको बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले पहिले पनि तराईको एउटा कार्यक्रममा आफूलाई ‘असाधारण निर्णय क्षमता भएको’ भनेर भन्नुभएकै हो ।’
‘सिके जी मूलधारमा आउने निर्णयको सन्दर्भलाई लिएर मतिर हेरेरै भनिहाल्नुभयो । अब, नभन्या भए पनि हुन्थ्यो भन्ने एउटा कुरा हो’, दाहालले भने, ‘तुलना ठ्याक्कै कहिल्यै हुँदैन ।’ त्यसैले आफूसँग तुलना गरेर प्रधानमन्त्रीले गल्ती गरेको अध्यक्ष दाहालको भनाइ थियो ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५