काठमाडाैं : सरकार र सिके राउतबीच भएको सहमति २४ घण्टा पनि नबित्दै तोडिएको विषयमा राजपा नेपालले कडा आपत्ति प्रकट गरेको छ ।
गत शुक्रबार राष्ट्रिय सभागृहमा विखण्डनवादी अभियानका नाइके सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमति विपरीत जनकपुर पुगेर राउतले विखण्डनवादी क्रियाकलाप गरेको भन्दै उसले सरकारँग तुरुन्त जवाफ माग गरेको छ ।
राजपा नेपालका महासचिव मनीष सुमनले आजको न्युजसँग कुरा गर्दै सहमति तोडिएको विषयमा सरकारले चाँडो भन्दा चाँडो जवाफ दिनुपर्ने बताए । सिके राउतलाई खुला रुपमा विखण्डनवादी क्रियाकलाप गर्न सरकारले लाइसेन्स दिएको जस्तो देखिएको भन्दै सरकारको कडा आलोचना गरे ।
उनले भने, ‘कसैलाई तँ विखण्डनको आन्दोलन गर, बन्दूक चला भनेर सरकारले लाइसेन्स दिन पाउँछ ?’ राउतका गतिविधिमा सरकार मौन रहेकाले राउतले दिएको जनमत संग्रहबारेको अभिव्यक्तिमा शंका गर्ने ठाउँ रहेको उनको भनाइ छ ।
संसद्मा गृहमन्त्रीले सहमतिमा जनमत संग्रह गर्ने कुनै आशय नभएको बताइरहँदा जनकपुरमा सिके राउत स्वतन्त्र मधेस र जनमत संग्रहबारे सहमति भएको भन्दै कुर्लिरहेका थिए । सुमनका अनुसार संसद्मा गृहमन्त्रीले जवाफ दिँदा सिकेको बचाउ गरेको जस्तो देखियो । यसबारेमा सरकारले स्पष्ट पार्नुपर्ने सुमनको माग छ ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५