काठमाडाैं : नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सिके–सरकार सहमतिमा आशंका गर्ने धेरै ठाउँ भएको बताएका छन् ।
गत शुक्रबार राष्ट्रिय सभागृहमा विखण्डनवादी अभियानका नाइके सिके राउतसँग सरकारले गरेको ११ बुँदे सहमतिका बुँदाप्रति उनले आशंका व्यक्त गर्दै ‘दाल में कुछ काला हे’ भन्ने अभिव्यक्ति दिएका छन् । सहमति गर्दा दोहोरो अर्थ लाग्ने भाषा प्रयोग गरिएकोप्रति उनको कडा आपत्ति थियो । ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ शब्दलाई दोहोरो अर्थमा व्याख्या गर्ने ठाउँ रहेको उनले जनाए ।
आफ्नो ट्वीटर ह्यान्डलमा ट्वीट गर्दै भट्टराइले लेखेका छन्, ‘महाभारतमा ‘नरो वा कुन्जरो वा अश्वस्थामा हतोहतः’ भन्ने द्विअर्थी कुरा गरेर द्रोणाचार्यको वध गरेझैं केपी सरकार–सीके सहमतिमा ‘जनअभिमतमा आधारित लोकतान्त्रिक विधि’ भनेर जनमत संग्रह अथ्र्याउने ढोका खोलिएको त हैन ? लोकतन्त्र भनेपछि ‘जनअभिमतमा आधारित’ फेरि किन भन्या होला ? दालमें कुछ काला तो है !’
सरकारले सिके राउतसँग सहमति गरेपछि राजनीतिक बजारमा तरंग उत्पन्न भएको छ । सत्ताइतरका त के कुरा सत्ताधारी दलकै नेता समेत दुई धारमा बाँडिएर आरोप–प्रत्यारोपमा उत्रिएका छन् । सहमति गर्दा अखण्ड नेपाल स्वीकार गर्ने अभिव्यक्ति दिएका राउत जनकपुर पुगेर स्वतन्त्र मधेस र जनमत संग्रहको पक्षमा वकालत गर्न भ्याएपछि कतिपयले सरकारले सिकेलाई विखण्डनवादको पक्षमा खुलेर लाग्ने ‘लाइसेन्स’ दिएको प्रतिक्रिया दिएका दिएको प्रतिक्रिया दिएका छन् ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५