धरान ः साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासका लागि पहल गर्न धरानकै पर्यटनकर्मी तथा साहसिक खेलसम्बद्ध एक्स्ट्रीम धरानका अध्यक्ष लेखमणि जिमीको संयोजकत्वमा ११ सदस्यीय नेटवर्क बनाइएको छ ।
सहसंयोजकमा इन्द्र राई र प्रकाश ठकुरी छानिएका छन् । ११ सदस्यीय नेटवर्कमा पछि ४ सदस्य थप हुने बताइएको छ । यो नेटवर्कले प्रदेश १ मा साहसिक तथा पर्यटकीय खेलकुदको विकास, विस्तार र व्यवस्थापनमा समन्वयकारी काम गर्ने माउन्टेन्ट स्पोर्टस फेडरेसनका अध्यक्ष गोविन्द भट्टराईले जानकारी दिए । पर्यटन वर्ष २०२० लाई लक्षित गरेर काम गर्न नेटवर्क बनाइएको हो ।
धरान उपमहानगरपालिकाले उपमहानगरभित्र के कस्ता साहसिक पर्यटकीय खेलका सम्भावना छन् भन्ने विषयमा छलफलपछि उक्त नेटवर्क बनाइएको हो । धरानमा १६ वटा साहसिक खेलमध्ये ५/६ वटा हाल पनि भइरहेकाले अझ यसलाई विस्तार गरी खेलको माध्यमबाट कसरी पर्यटक भित्र्याउन सकिन्छ भन्ने उद्देश्यले माउन्टेन स्पोर्टस फेडरेसनसँगको सहकार्यमा धरानमा साहसिक तथा पर्यटकीय खेलसम्बन्धी अन्तरक्रिया गरेको हो ।
धरानमा हाल साइकिलिङ, पाराग्लाइडिङ, क्यानोनिङ, फ्लाइङ जिप, बोटिङ, रेस, बाइक रेसलगायत खेलको सम्भावना रहेको छ । केही खेल निजीस्तरबाट भइरहेका छन् । यी खेललाई व्यापक बनाएर प्रदेश १ मा वार्षिक १ लाख पर्यटक भित्र्याउन सकिने धरान उपमहानगरपालिका कार्यवाहक प्रमुख मञ्जु भण्डारीले बताइन् ।
छलफलमा प्रदेशसभा सदस्य कुसुम श्रेष्ठ, सावित्री श्रेष्ठ, सामाजिक विकास मन्त्रालयका सचिव हरि दाहाललगायत सहभागी थिए ।
प्रकाशित मिति: सोमबार, फागुन २७, २०७५