कास्की : खेलकूद पूर्वाधारको निर्माण गरी पोखरालाई खेल पर्यटनको हव बनाउने युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले बताए ।
पोखरा रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको फुटबल प्याराफिट (स्टेडियम) को आज शिलान्यास गर्दै उनले काठमाडौँ पछिको दोस्रो शहर पोखरामा खेल पर्यटनको माध्यमबाट आर्थिक समृद्धि हासिल गरिने बताए । अन्तर्राष्ट्रिय मापदण्डअनुसारका खेल पूर्वाधार निर्माण गर्ने योजना सरकारको रहेको उल्लेख गर्दै रङ्गशाला निर्माणका लागि निर्माण कम्पनीलाई उपयुक्त वातावरण बनाइन स्पष्ट पारे ।
संसारमा खेलिने सबै खेल सञ्चालनका लागि प्राकृतिक रुपमा गण्डकी प्रदेशसमा सम्भावना रहेको उनको भनाइ थियो। राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले खेलकूद मन्त्रालय र राखेपले पोखरालाई ‘स्पोर्टस् टुरिजम सिटी’का रुपमा विकास गर्न प्रस्ताव तयार पारिरहेको जानकारी गराउँदै सो प्रस्ताव पोखरा महानगरलाई हस्तान्तरण गरिने बताए ।
करीब १८ हजार ५०० दर्शक क्षमताको फुटवल स्टेडियमको कूल लागत रु एक अर्व २८ करोड २२ लाख १८ हजार १७४ रहेको छ । स्टेडियम निर्माणका लागि गत पुस मसान्तमा राष्ट्रिय खेलकूद परिषद् र एमए कन्स्ट्रक्सन तथा भारतीय ग्रेट स्र्पोट्स इन्फ्रा (जेभी) बीच सम्झौता भएको थियो । सो स्टेडियम आगामी असार मसान्तभित्रमा निर्माण गरिसक्ने सम्झौतामा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, फागुन २६, २०७५